पढाइको चाहना पूरा गर्न उमेर तगारो नहुँदोरहेछ । यही कुरालाई सत्य प्रमाणित गरिदिएकी छिन् लालझाडी गाउँपालिका–४ पर्सीयाकी डल्लीदेवी चौधरीले ।
बाउन्न वर्षको उमेरमा चौधरीले विद्यालयमा भर्ना भएर पढ्न थाल्नु भएको छ। गाउँकै स्वतन्त्र माध्यमिक विद्यालयमा कक्षा १ मा भर्ना भएर उहाँले पढ्न थाल्नुभएको हो। चौधरी गाउँपालिका–४ को वडासदस्य हुनुहुन्छ । उहाँ पढ्नका लागि भर्ना भएको विद्यालय व्यवस्थापन समितिको सदस्य पनि हुनुहुन्छ ।
“सानैदेखिको विद्यालय गएर पढ्ने चाहना थियो”, उहाँले भन्नुभयो, “पढ्नै पाइएन, सँगैका जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समितिका साथीहरूले हस्ताक्षर गर्नुहुन्छ, मैले औँठा लगाउनुपर्ने हुन्छ, यस्तो अवस्थामा मनभित्र हीनताबोध हुन्छ ।” पढ्न पाएको भए यस्तो हुँदैनथ्यो भन्ने कुरा मनभित्रै खेल्ने गरेकाले हिम्मत गरेर पढेर साक्षर बन्नका लागि विद्यालय भर्ना भएको उहाँले जानकारी दिनुभयो ।
“विद्यालय व्यवस्थापन समितिको बैठकमा सहभागी सदस्यहरूले आफूले यति उति पढेको कुरा सुनाउन थाले आफू नपढेकाले हीनता महसुस गरेँ”, भन्नुभयो, “मैले पनि पढेको भए अहिले फुइ लगाउथे भनेर सोच्न थाले, बैठकमै सहभागी शिक्षकले उमेर जति भए पनि पढनका लागि उमेर तगारो हुँदैन भनेर हौसला बढाएपछि मनभित्रैबाट पढ्ने पुनः इच्छा पलायो, त्यसपछि भर्ना भए, विद्यालयबाट किताब लगेर अध्ययन गर्न थालेको छु ।”
वडाको कामले गाउँमा खटिनुपर्ने हुँदा नियमित विद्यालय जान नपाए पनि घरमा रहेका नातिनीहरूबाट बाह्राखरी, दुनालगायत पढ्न र सिक्न थालेको उनले बताउनुभयो। समय मिलेको बेला कक्षामै अरू विद्यार्थीसँगै बसेर पढ्न पनि जाने गरेको उहाँले उल्लेख गर्नुभयो। धेरै वर्ष पहिले गाउँमा सञ्चालन भएको अनौपचारिक (प्रौढ) कक्षामा क, ख र १, २ सिकेको भए पनि बाह्राखरी र दुना नसिक्दा पढन लेख्नबाट वञ्चित भएको उहाले सुनाउनुभयो । अनौपचारिक कक्षामा पूरै समय दिन नसक्दा लेख्न र पढ्न जान्ने हुन नसकेको उहाँको भनाई छ । उहाँले थप्नुभयो, “सानै छदा विद्यालय पढ्छु भनेर बुबालाई नभनेको होइन, उनले पढ्ने कुराप्रति फिट्टिकै ध्यान दिनुभएन, सानै भएकाले आफूले विद्यालय जाने हिम्मत गरेँ, १०÷१२ वर्षको उमेर भएपछि गोठाला जान थाले त्यसपछि विद्यालय जाने कुरा बिर्सिए ।” तेह्र वर्ष पुग्नै लाग्दा विवाह भयो । घरधन्दा गर्नमै उनका दिन बित्न थाले ।
“विवाह भएर आएपछि ससुरालमा भान्साको काम सुम्पियो”, उहाँको अनुभव छ, “पूरै परिवारका लागि साँझ बिहानको खाना पकाउनुपर्दथ्यो, खाना पकाउन, खुवाउन र भाँँडाकुँडा सफा गर्नमै दिन बित्थ्यो, बचेको समयमा खेतबारीमा काम गर्नमै ठिक्क हुन्थ्यो ।” चुलोचौकाबाट फुर्सदनै नहुने भएपछि पढ्ने कुरा सोच्न पनि नपाइएको उहा बताउनुहुन्छ । “विवाह भएको तीन चार वर्षमै बच्चाबच्ची जन्मिए, बच्चाबच्चीलाई हुर्काउनमै समय बित्दै गयो”, उहाँले उल्लेख गर्नुभयो ।
छोरालाई इन्टरनेट जडानको कार्यको सीप सिकाएर आत्मनिर्भर बनाएको उहाँको भनाइ छ ।
विद्यालयका प्रध्यानाध्यापक जगन्नाथ भट्टले वडासदस्य चौधरीलाई विद्यालयमा कक्षा १ मा भर्ना गरी पढ्नका लागि किताब उपलब्ध गराइएको जानकारी दिनुभयो, “उहाँको पढ्ने प्रवल इच्छा रहेछ”, उनले भने, “उहाँकै इच्छाअनुसार भर्ना गरी कक्षामा सहभागी हुनका लागि आग्रह गरेका छौँ, उहाँलाई बाह्राखरीसँगै वर्णविन्यास, दुनालगायत लेख्न पढ्न सिकाउने कार्य गर्छौँ।”