साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचक दोहोरो अंकले उकालो लागेको छ। आज नेप्से १९.३० अंक (०.७४ प्रतिशत)ले बढेर दुई हजार ६२८.३६ विन्दुमा पुगेर कारोबार बन्द भएको हो।
‘क’ वर्गका कम्पनीको कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि ०.९४ प्रतिशतले बढेको छ। ३२४ कम्पनीको एक करोड ६२ लाख पाँच हजार कित्ता सेयर खरिद–बिक्री हुँदा सात अर्ब ३५ करोड ८८ लाख ५५ हजार रुपैयाँबराबरको कारोबार भएको छ। यसअघि आइतबार आठ अर्ब ४१ करोडबराबरको सेयर कारोबार भएको थियो।
आज होटेल तथा पर्यटन १.२४ प्रतिशतले घट्दा बाँकी सबै समूहको सूचकमा वृद्धि भएको छ। बैंक, विकास बैंक र निर्जीवन बिमा एक प्रतिशतभन्दा धेरैले बढ्दा बाँकी समूह एक प्रतिशतभन्दा कमले बढेका हुन्।