तीनकुने घटनाका दोषी सांसद धवलशमशेरविरुद्ध ४ कसुरमा मुद्दा दर्ता

तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनका आरोपित राप्रपाका महामन्त्री तथा सांसद धवलशमशेर राणाविरुद्ध चार कसुरमा मुद्दा दायर भएको छ ।

उनीविरुद्ध राज्यविरूद्धको कसुर, आपराधिक उपद्रव, संगठित अपराध र एकीकृत कसुरमा मुद्दा दायर भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले गरेको अनुसन्धान प्रतिवेदनको आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले उनीसहितका व्यक्तिविरुद्ध मुद्दा दायर गरेको हो ।

१५ चैत २०८१ राजसंस्था पक्षधरहरूले तीनकुने क्षेत्रमा प्रदर्शन गरेका थिए । उक्त प्रदर्शनको कमाण्ड भने विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंले गरेका थिए । प्रदर्शन हिंसात्मक बन्दा दुईजनाको ज्यान गएको थियो भने लुटपाट र आगजनी भएको थियो ।

हिंसात्मक प्रदर्शनको राति नै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले राणालाई पक्राउ गरेको थियो । ग्वार्कोस्थित बीएन्डबी अस्पतालमा उपचाररत प्रदर्शनका घाइते भेटेर फर्केने क्रममा उनी पक्राउ परेका थिए ।

लामो समय हिरासतमा रहेका उनलाई उपचारका लागि भन्दै सरकारी वकिलको राय लिएर प्रहरीले छाडेको थियो । अहिले हिरासत बाहिर रहेका उनीविरुद्ध मुद्दा गरिएको हो ।