सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेले फेरि एकपटक सडकमा उत्रिएको छ । विभिन्न नाममा शक्ति प्रदर्शन गर्ने गरेको एमाले आज गणतन्त्र दिवस मनाउन भन्दै कार्यकर्तालाई सडकमा ओरालेको हो ।
अहिले एमालेका कार्यकर्ता काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट झाँकीसहित कार्यक्रमस्थल रत्नपार्क पुगिरहेको छन् । पद्मकन्या क्याम्पस, बागबजार अगाडिबाट, अनामनगरसहित विभिन्न स्थानबाट आ–आफ्नो भेसभुसा,सांस्कृतिक झाँकीसहितको र्याली निकालिएको छ ।
प्रदर्शनमा ढाल र तरबारसमेत देखाइएको छ । राजतन्त्रको विरोधमा एमाले कार्यकर्ताले प्रतिकात्मक रुपमा ढाल र तरबारसहित नारा लगाएका हुन् । त्यस्तै, जुलुसमा झ्याली, दमाह, ढोलकलगायतका रैथाने बजाको लयमा झाँकी नाच पनि प्रदर्शन गरिएको छ ।
जुलुसको अग्रपंक्तिमा लेखराज भट्ट, गोकर्ण विष्ट, सूर्य थापालगायतका नेताहरु देखिएका छन् । भृकुटीमण्डपबाट बृहत् र्याली रत्नपार्कमा पुगेर सम्बोधनसहित समापन हुने जनाइएको छ ।