खेलकुदमा अहिलेसम्मकै उच्च बजेट

नेपाल सरकारले युवा तथा खेलकुदमा अहिलेसम्मकै उच्च बजेट विनियोजन गरेको छ।

आगामी आर्थिक वर्ष २०८२-०८३ का लागि अर्थमन्त्री विष्णु पौडेलले संसदमा आज बजेट प्रस्तुत गर्दै युवा तथा खेलकुदलाई ६ अर्ब ८ करोड रुपैयाँ बजेट विनियोजन गरेको जानकारी दिनुभयो ।

यो रकम अघिल्लो आर्थिक वर्ष २०८१-८२ को तुलनामा २ अर्ब ५८ करोडले बढी हो। चालु आर्थिक वर्षको लागि ३ अर्ब ५० करोड बजेट विनियोजन भएको थियो।

यसअघि युवा तथा खेलकुदको लागि विनियोजन गरिएको उच्च बजेट आर्थिक वर्ष २०७६-७७ मा ३ अर्ब ९९ करोडको थियो।

अर्थमन्त्री पौडेलले खेल पूर्वाधारको निर्माण र खेलाडीको व्यावसायिकता विकासमा लगानी बढाउने बताए। उनले निजी क्षेत्रलाई खेल पूर्वाधारमा लगानी गर्न आकर्षित गरिने पनि उल्लेख गर्नुभयो ।

कर्णाली प्रदेशमा हुने दशौं राष्ट्रिय खेलकुदको लागि ५४ करोड बजेट विनियोजन गरिएको छ। अघिल्लो आर्थिक वर्षमै हुने तय भएको दशौं राष्ट्रिय खेलकुदका लागि ६० करोड बजेट विनियोजन गरिएको थियो । तर दुई पटक मिति सर्दा समेत तोकिएको समयमा राष्ट्रिय खेलकुद आयोजना हुन सकेन ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानको स्तरोन्नतिका लागि ४० करोड रुपैयाँ बजेट छुट्याइएको मन्त्री पौडेलले जानकारी दिनुभयो । यसैगरी मुलपानी, फाप्ला, सिद्धार्थ र गिरिजाप्रसाद कोइराला क्रिकेट मैदानको स्तरोन्नतिका लागि कुल ४२ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ।

झापाको दमकमा अन्तर्राष्ट्रिय स्तरको सबै खेल आयोजना गर्न सकिने आधुनिक रंगशाला निर्माण गरिनेछ। त्यस्तै, सोलुखुम्बु, मुस्ताङ लगायत हिमाली क्षेत्रमा हाइ अल्टिच्युड स्पोर्ट्स स्टेडियम बनाइने पनि बजेट भाषणमा उल्लेख गरिएको छ।

चितवनको गौतम बुद्ध क्रिकेट रंगशालाका लागि सिर्जित सम्पत्ति खरिद गर्न सशर्त अनुदानको व्यवस्था गरिएको छ।