गृह र परराष्ट्र बाहेक कांग्रेसका सबै, एमालेको कुन मन्त्री परिवर्तन ?

आलोपालो प्रधानमन्त्रीलाई सहमतिको मुख्य आधार बनाएर गठित केपी शर्मा ओली नेतृत्वको दुई दलीय सरकारमा मन्त्री पनि आलोपालो गरिने भएको छ ।

प्रतिनिधि सभाको बाँकी अवधि आलोपालो सरकार चलाउने र पहिलो कार्यकाल ओलीले खाने गत वर्ष २०८१ असार १७ गतेको सहमतिबमोजिम अहिले दुई पार्टीको सरकार शंका, तानातान र घुर्कीका बलमा चलिरहेको छ ।

एमालेले प्रधानमन्त्री, अर्थमन्त्रीसहित ९ वटा मन्त्रालयको नेतृत्व गरेको छ भने कांग्रेसबाट एक उपप्रधानसहित १० जना मन्त्री छन् । दुई पार्टीका शीर्ष नेताबीच भएको ७ बुँदे सहमति संविधान संशोधनको मुख्य बुँदाबाहेक खुरुखुरु पालना हुँदा अर्को वर्ष असारसम्म ओली नै नेतृत्वमा हुनेलाई शंका गरिदैन । तर, मन्त्रीमा भने भाग पुर्‍याउनका लागि पुरानालाई बिदा गरेर नयाँलाई ल्याउने तयारी साउनमा छ ।

ऊर्जा, उद्योग र उड्डयनमन्त्री फेर्न ओली र देउवा सहमत भएको चर्चा बाहिर आएको छ । प्रधानमन्त्री ओली र पूर्व प्रधानमन्त्री शेर बहादुर देउवाभन्दा पावरफूल देउवापत्नी तथा परराष्ट्रमन्त्री डा.आरजु राणा ‘फ्याक्टर’ ले काम गरेको कांग्रेस श्रोतले बताएको छ । गृहमन्त्री रमेश लेखक र आरजु बाहेक कांग्रेसमा सबैमन्त्री परिवर्तन हुने लक्ष्यण देखिएको छ ।

ओली क्याबिनेटका केही मन्त्री विवादित छन् भने अधिकांशको कार्य सम्पादन औसतभन्दा निकै तल छ । ऊर्जा, जलस्रोत तथा सिँञ्चाइमन्त्री दीपक खड्का सबैभन्दा विवादमा परेका ब्यापारी र ठेकदार भनेर चर्चा बजारमा छ ।

त्यस्तै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डे र स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलप्रति पनि कांग्रेसमा असन्तुष्टि छ । युवा र शालीन व्यक्तित्वको छवि बनाएका यी दुई विवादमा नपरे पनि कार्य सम्पादनमा कम अंक ल्याएको कारण आगामी श्रावणमा हटाइने सूचीमा छन् ।

एमालेमा भने उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता ‘डेञ्जर जोन’ मा छन् । देउवाले साउनमा क्याबिनेट हेरफेर हुने खुलासा गरेसँगै कांग्रेसमा मन्त्रीका आकांक्षीहरूले भित्रभित्रै लबिङ शुरु गरिसकेका छन् । जसमा रामहरी खतिवडा समेत चर्चामा देखिएको श्रोतले बताएको छ ।

जानकार स्रोतका अनुसार ओली सरकारमा प्रतिनिधित्व गर्ने कांग्रेसका ९ मध्ये ७ (आरजु र लेखकबाहेक) मन्त्री फेरबदल हुँदा आन्तरिक समीकरणमा मञ्जु खाँणलाई मन्त्री बनाइने सम्भावना छ ।

११ महिनापछि आजै शुक्रबार संसदीय दलमा गगन र शेखर मिलेर चुनौती दिएको अवस्था समेत देखिएको छ ।