१३औं कान्तिपुर हाफ म्याराथनमा दुबै नयाँ बिजयी

१३औं कान्तिपुर हाफ म्याराथनको उपाधि आर्मीका धावक खडकबहादुर खड्का र ओलम्पियन धाविका सन्तोषी श्रेष्ठले जितेका छन्। दुवै पहिलो पटक च्याम्पियन भएका हुन्। खडकबहादुरले १ घन्टा ०६ मिनेट ४७ सेकेन्डमा दौड पूरा गरेका थिए।

धादिङकी सन्तोषीले १ घन्टा २३ मिनेट २८ सेकेन्डको टाइमिङ निकालेकी हुन्। खडकले दोस्रो सहभागितामा उपाधि जितेका हुन्। तेस्रो प्रयासमा हाफ म्याराथनमा विजेता भएकी सन्तोषीले ५ किमितर्फ चार पटक उपाधि जितेकी थिइन्।

खडकलाई निकट प्रतिद्वन्द्वी केन्याका जुलियस मुरिउकी १ घन्टा ०६ मिनेट ५६ सेकेन्ड ले कडा टक्कर दिएका थिए । माइतीघरको मोडबाट जुलियसलाई उछिन्दै खडकले उपाधिमा बाजी मारेका थिए । तेस्रो स्थानमा एपीएफका धावकक गोपीचन्द्र पार्की आए ।

उनले १ घन्टा ०८ मिनेट ४८ सेकेन्डमा दुरी पार गरेका थिए । गत वर्ष पनि गोपीचन्द्र तेस्रो नै भएका थिए ।