भ्रष्टाचारमा मुछिएका व्यक्ति नै भ्रष्टाचार विरोधी अभियन्ता

प्रहरी सेवाबाट अवकाश भएपछि आफूलाई भ्रष्टाचारविरोधी अभियन्ताको रुपमा प्रस्तुत गरिरहेका एक भूतपूर्व नायव उपरीक्षक (डिएसपी)ले जागिरे जीवनमा सर्वसाधारण र व्यवसायीसँग लाखौं असुलेको तथ्य खुलेको छ ।

डिएसपी हुँदा मानव बेचबिखन अनुसन्धान ब्युरो र केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) मा पालैपालो बसेका गोविन्द पन्थीले ट्राभल र म्यानपावर व्यवसायीहरुका कमजोरीलाई ‘नगद नारायण’को मुख्य स्रोतको रुपमा प्रयोग गरेको देखिन आउँछ ।

नीति 365लाई प्राप्त विवरणमा उनले व्यवसायीहरुको त्यस्ता कमजोरी पत्ता लगाई धम्काउने वा मुद्दा नचलाउने आश्वासनमा असुली गरेको तथ्य खुलेको छ ।

त्यतिबेला ब्युरोमा कार्यरत एक जना प्रहरीका अनुसार पन्थीको टोलीले विदेश उड्न नदिएर राहदानी कब्जामा लिएपछि गरिब नेपालीलाई ब्युरोमै बोलाएर प्रष्टीकरण लिन्थ्यो ।

सो क्रममा ती मानिसको सम्पर्कमा पन्थी निकट वीरेन पन्थी र वीरेनकी श्रीमती पुगिहाल्थे । वीरेन दम्पत्तिले भिजिट भिसामा बाहिर उड्न नदिएर ब्युरोको टोलीले राहदानी कब्जामा लिएका यात्रुहरुसँग पाँचदेखि २० हजार असुल गरेपछि केही दिनको अन्तरालमा सबै पुरानै कागजपत्र र प्रक्रियाबाट उनीहरुलाई विदेश उडाइन्थ्यो । त्यसमा ब्युरोको टोलीले नाम हेर्दै छाडिदिने गरेको थियो ।

पहिले मानव बेचबिखनको टोलीले जे गर्थ्यो, ठीक त्यसरी नै सिआइबीले भिजिट भिसामा उड्न चाहनेहरुको राहदानी कब्जामा लिई सोधपुछको लागि बोलाउने क्रम शुरु भयो । सोधपुछका नाममा कागजात कब्जामा लिने र एकाध दिनपछि उड्न दिने पुरानो क्रम यथावत हुन थाल्यो ।

गोविन्दले त्यतिबेला दुई जना महिलालाई प्रतिनिधिका रुपमा ट्राभल एजेन्सी र म्यानपावरहरुमा प्रयोग गरेको स्रोतको दावी छ । तीमध्ये एक महिलामाथि अहिले पनि व्यवसायीहरुलाई अप्ठेरोमा पारेर मीटरब्याज असुलीको आरोप लागिरहेको छ ।

अध्यागमन कर्मचारी,बिचौलिया,ट्राभल एजेन्सी,एयरलाइन्सलगायतको मिलेमतोमा भिजिट भिसामा श्रमका लागि उडाइने निर्धन र बेरोजगार नेपालीहरुसँग ठग्ने कार्य त्यतिबेलै शुरु भएको घटनाक्रमले देखाउँछ ।

पहिले प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरो र पछि सिआइबीका नाममा राहदानी लिएपछि रकम असुल्ने कार्यको प्रारम्भ उनै पन्थीको पालामा भएको ठोकुवा गर्ने प्रहरीहरु थुप्रै छन् ।