राष्ट्र बैंकमा को बरिष्ठ ? छुट्याउन गारो

विशेषगरी दुई जना कार्यकारी निर्देशकको अवकाशसङ्गै रिक्त स्थानमा वरिष्ठताका आधारमा निर्देशकहरुको बढुवा गरिएको छ ।

तर,बैंकको सूचना प्रविधि विभागले वेवसाइटमा गरेको अपडेटमा वरिष्ठलाई कनिष्ठ,कार्यकारी निर्देशकलाई निर्देशक,अवकाश प्राप्तलाई वरिष्ठ कार्यकारी निर्देशक, एउटा विभागको जिम्मेवारीमा रहेकालाई अर्को विभागको जिम्मेवारीमा राखिएको देखिन्छ ।

आज दिउँसो २ बजेसम्मको रेकर्डअनुसार बैंकको १९ वटा विभागमध्ये बैंकिंग विभागमा कार्यकारी निर्देशकको नामोनिशान छैन । जबकी डा.डिल्लीराम पोखरेलले उक्त विभागको जिम्मेवारी सम्हालिसकेको हुनुहुन्छ ।
अघिल्लो साता बढुवा भएका पोखरेललाई आज दिउँसोसम्म गभर्नर कार्यालयका निर्देशकको दर्जामा राखिएको छ ।

राष्ट्र बैंकमा नयाँ गभर्नर बहालीको आज १५ दिन पुगेकोे छ । डा.विश्व पौडेलले जिम्मेवारी सम्हालेको दुई हप्तामा केही हाकिम अवकाशमा गएका छन् भने केहीको बढुवा भएको छ ।

अघिल्लो साता बढुवा भएका पोखरेललाई निर्देशकमा राखिएको छ भने अस्ति बेलुकी बढुवा भएका दीर्घबहादुर रावललाई १८ नम्बरको कार्यकारी निर्देशक भनिएको छ । उहाँभन्दा माथिको नम्बरमा हुनुपर्ने पोखरेललाई एक तह घटुवाको अवस्थामा राखिएको छ । पोखरेल जेठ १० गते अवकाश भएका डा.प्रकाशकुमार श्रेष्ठको स्थानमा बढुवा हुनुभएको हो ।