दार्चुला पावर लिमिटेडले अघि बढाएको २८.३ मेगावाटको मध्य चमेलिया जलविद्युत् आयोजनामा लगानी जुटेको छ ।
दार्चुलाको मार्मा गाउँपालिका– २ मा बन्ने परियोजनाको कुल अनुमानित लागत पाँच अर्ब ६६ करोड रुपैयाँ छ । त्यसको ७५ प्रतिशत लगानी ऋणमार्फत जुटाइएको हो । बाँकी रकम कम्पनीले स्वँपुजीका रूपमा लगानी गर्नेछ ।
बुधबार दार्चुला पावरका अध्यक्ष र नेपाल बैंकका प्रमुख कार्यकारीले ऋण लगानी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार नेपाल बैंकले दुई अर्ब २४ करोड पाँच लाख रुपैयाँ र नबिल बैंकले दुई अर्ब रुपैयाँ ऋण लगानी गर्नेछन् । दार्चुला पावर लिमिटेड, अपि पावर कम्पनी लिमिटेडको सहायक कम्पनी हो ।