फिक्का – फिक्कामा सलोन र करिश्मा

अभिनेता सलोन बस्नेत र करिश्मा केसी बस्नेत दम्पतीले पहिलोपटक एकसाथ म्युजिक भिडियोमा अभिनय गरेका छन् । उनीहरूले गायक तथा नायक आमेश भण्डारी र गायिका समीक्षा अधिकारीको स्वर रहेको फिक्का फिक्का बोलको गीतमा अभिनय गरेका हुन् । उनीहरुद्वारा अभिनीत गीत भिडियोसहित हालै सार्वजनिक गरिएको छ ।

प्रेमिल भावमा बनेको गीतमा उनीहरूको जोडी सुहाएको छ । गीतमा शब्द रचना तथा संगीत गायक भण्डारीको छ भने संगीत संयोजन विश्व अधिकारीको छ। गीतको शब्द आमेशले सलोन र करिश्माका लागि लेखिदिएको आभास हुन्छ । यसअघि आमेशले सलोन र करिश्माको फिल्म रंगीमा गाएका थिए ।

यस पटक भने उनले फिक्का फिक्का बोलको गीतमा सहकार्य गरेका छन्। गीतको भिडियोको कोरियोग्राफी दावा बल तामाङले गरेका छन् भने निर्देशन कविराज गहतराजको छ । सौरभ लामाको टिमले खिचेको भिडियोको सम्पादन दिनसन शाहले गरेका छन्। गीतको भिडियो गायिका समीक्षा अधिकारीको युट्युब च्यानलमा अपलोड गरिएको छ ।