सूचना रकम खाने प्रशासकीय अधिकृत र पत्रकार भ्रष्टाचार मुद्दामा

रौतहट फतुवा विजयपुर नगरपालिकामा कृषकहरूका लागि औषधि स्प्रे टंकी वितरणको टेण्डर सूचना ननिकाली सेटिङ गर्ने तत्कालीन प्रमुख प्रशासकीय अधिकृत, पत्रिकाका सम्पादक, प्रकाशक र पत्रकारसमेत ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।

अख्तियारले विशेष अदालतमा आज भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

वडा नम्बर ४ का कृषकका लागि स्प्रे टंकी खरिदसम्बन्धी बोलपत्र आह्वानको सूचना जनसवाल राष्ट्रिय दैनिक र तराई पोष्टमा प्रकाशित भएको भएको भनिएको सूचना वास्तविकरूपमा प्रकाशन नगरेको पाइएको अख्तियारले जनाएको छ ।

मुद्दा दायर गरिएकामा तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत शम्भुकुमार यादव, तत्कालीन सह(लेखापाल नवीनकुमार यादव, जनसवाल राष्ट्रिय दैनिक पत्रिकाका सम्पादक रामजी वगाले, तराई पोष्टका प्रकाशक रुपेन्द्र पटेल र तराई पोष्टका प्रतिनिधि ओमप्रकाश यादव छन् ।

उनीहरूले सूचना नै ननिकाली एक प्रति रेकर्डका लागि मात्र प्रिन्ट गरेका थिए ।

अख्तियारका अनुसार जनसवाल राष्ट्रिय १ लाख ७२ हजार ८२५, तराई एक्सप्रेसलाई ३९ हजार ४ सय र तराई पोष्टलाई गरी जम्मा २ लाख १२ हजार २२५ रूपैयाँ भुक्तानी गरेको पाइएको छ ।