हनिमुन हत्या : पत्नी सोनमसहित ५ आरोपितलाई आज अदालत पेस गरिँदै

भारतीय प्रान्त मध्य प्रदेशस्थित इन्दौरका राजा रघुवंशी हत्या प्रकरणमा पक्राउ गरिएका उनकै नवविवाहित पत्नी सोनमसहित ५ जनालाई प्रहरीले उत्तर प्रदेशको गाजीपुरबाट मेघालयको शिलोङ ल्याएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार मेघालय प्रहरीले उनीहरूलाई हिजो मंगलबार राति अबेर शिलोङ ल्याइपुर्‍याको हो।

सबै जनालाई आज अदालतमा पेस गरिने बताइएको छ। यसपछि प्रहरीले उनीहरूलाई घटनास्थलमा लानेछ र प्रमाण संकलन गर्नेछ।

इन्दौर प्रहरीले चार आरोपित राज कुशवाहा, आकाश राजपुत, विशाल चौहान र आनन्द कुर्मीले आफ्नो अपराध स्वीकार गरिसकेको दाबी गरेको छ।

मेघालय प्रहरीका अनुसार विशालले राजालाई पछाडिबाट आक्रमण गरेका थिए। जतिबेला राजासँग हनिमुन मनाउन सँगै रहेकी सोनम पनि त्यहीँ थिइन्। उनले उल्टै चिच्याएर ुउसलाई मारु भनेकी थिइन्।

शिलोङ प्रहरीलाई उधृत गर्दै दैनिक भास्करले लेखेअनुसार पतिको हत्यापछि सोनम रेलबाट इन्दौर फर्केर भाडाको कोठामा बसेकी थिइन्। अनि एक चालकले उनलाई वाराणसीमा छोडिदिए, जहाँबाट उनी गाजीपुर पुगिन्।

राजा र सोनमबीच मे ११ मा विवाह भएको थियो। यसपछि उनीहरू हनिमुन मनाउन भनेर मे २१ मा शिलोङ पुगेका थिए। अन्तिमपटक परिवारसँग मे २३ मा कुरा गरेका उनीहरू त्यसपछि सम्पर्कविहीन भएका थिए।

यसपछि खोजी गर्दा राजा जुन २ मा मृत भेटिए भने सोनम भेटिएकी थिइनन्। अन्ततस् उनी १७ दिनपछि जुन ९ मा गाजीपुरमा फेला परिन्। त्यसपछि हत्या प्रकरण खुलासा भयो।