सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगसहित विभिन्न संवैधानिक निकायमा ५२ पदाधिकारी नियुक्तिविरुद्धको रिटमा आज बुधबार फैसला सुनाउने भएको छ ।
सर्वोच्चको संवैधानिक इजलासले मुद्दा परेको साढे चार वर्षपछि नियुक्तिसम्बन्धी मुद्दामा यही जेठ १ गते अन्तिम सुनुवाइ सकेर आजका लागि फैसला सुनाउने मिति तय गरेको थियो ।
प्रधान न्यायाधीश प्रकाशमानसिंह राउत तथा न्यायाधीशहरू सपना प्रधान मल्ल, मनोजकुमार शर्मा, कुमार चुडाल र नहकुल सुवेदीको इजलासले मुद्दामा माघ ३० गतेदेखि हेर्दाहेर्दैमा राखेर निरन्तर सुनुवाइ गरेको थियो । उक्त इजलासले मुद्दामा सम्मिलित अधिवक्ता तथा कानून व्यवसायीहरूलाई यही जेठ १६ गतेसम्म बहस नोट पेस गर्न आदेश दिएको थियो ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले २०७७ सालमा अध्यादेशमार्फत विभिन्न संवैधानिक निकायमा ५२ जना पदाधिकारी तथा सदस्य नियुक्त गरेको थियो ।