नेपालमा २०८१ वैशाख महिनाभरी मोबाइल मार्फत हुने बैंकिङ कारोबारको सङ्ख्या र रकम अघिल्ला महिनाहरुमा झैं बढेको पाइएको छ। यो प्रवृत्ति मंसिरदेखि यता निरन्तर बढ्ने क्रममा रहेको छ।
नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०८१-२०८२ को दशौं महिना २०८२ वैशाखसम्मको मासिक भुक्तानी प्रणाली सूचक अनुसार मोबाइल बैंकिङ कारोबार र रकम दुवैमा लगातार छैटौं महिना बढोत्तरी भएको पाइएको हो।
माघबाट फागुनमा जाँदा कारोबार सङ्ख्या २ लाख २८ हजार ७२६ बढेर समग्रमा ५ करोड १२ लाख ३२ हजार ७४८ पुगेको थियो।
यसैगरी कारोबार रकममा पनि उल्लेख्य ७ अर्ब ८५ करोड ३० लाख रुपैयाँले बढेर मोबाइल बैंकिङमार्फत् हुने कारोबार रकम समग्रमा ४ खर्ब १५ अर्ब ७८ करोड ५० लाख पुगेको थियो।
कारोबार रकम पनि सङ्ख्याकै अनुपातमा बढेको थियो। चैत मसान्तसम्म आइपुग्दा ३ अर्ब ४६ करोड ६९ लाख रुपैयाँले बढेर समग्रमा ४ खर्ब ५० अर्ब ४५ करोड ९० लाख रुपैयाँ पुगेको प्रतिवेदनले देखाएको छ।
हाल चैत मसान्तबाट वैशाख मसान्तसम्मको एक महिनामा कारोबार सङ्ख्या ११ लाख ७९ हजार ४९८ बढेर समग्रमा ५ करोड ७३ लाख ७१ हजार २१५ पुगेको छ।
कारोबार रकम पनि चैत मसान्तको ४ खर्ब ५० अर्ब ४५ करोड ३० लाखबाट ६अर्ब ५० करोड बढेर समग्रमा ४ खर्ब ५६ अर्ब ९५ करोड ४० लाख रुपैयाँ पुगेको प्रतिवेदनले देखाएको छ।
यो प्रवृत्तिले उपभोक्ताहरु भौतिक रकमभन्दा सहजताका हिसाबले प्रविधिमार्फत सञ्चालित मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, क्यूआर कोड तथा वालेटमार्फत् भुक्तानी कारोबारतर्फ आकर्षित हुँदै गइरहेको जनाउँछ ।