एआई साक्षरताको आवश्यकता

एआई
एआई, अङ्ग्रेजी शब्द ‘आर्टिफिसियल इन्टेलिजेन्स’ को सङ्क्षिप्त रूप हो, जसलाई नेपालीमा ‘कृत्रिम बुद्धिमता’ वा ‘कृत्रिम बौद्धिकता’ भनिन्छ। शाब्दिक रूपमा हेर्दा यो मानिसले सिर्जना गरेको बौद्धिकता हो। मानव जाति मात्र यस्तो प्राणी थियो जसमा सिक्ने, बुझ्ने, सोच्ने, विचार गर्ने र निर्णय गर्ने क्षमता थियो।

यही क्षमताका कारण मानव सभ्यताले आजको स्वरूप प्राप्त गरेको हो। जब मानिसमा रहेको यही क्षमतालाई मेसिनले अनुकरण गरी मानिसले जस्तै सोच्ने, बुझ्ने, विचार गर्ने र आफैँ निर्णय गर्न सक्ने बनाइयो, त्यसलाई कृत्रिम बौद्धिकता भनिन्छ। सरल शब्दमा भन्नुपर्दा बुद्धि भएको मेसिन नै एआई हो।

पछिल्लो समय एआईले नै पोडकाष्ट बनाइदिन्छ नेपाली भाषामै। यसको लागि साक्षरताको आवश्यकता छ ।
एआई साक्षर बन्न सक्दा हिजो जान्दै नजानेका, जानेर पनि गर्न नसकेका, गर्दा पनि महिनौँ लाग्ने काम अहिले एआईले मिनेटभरमै गर्न थालेको छ। त्यसैले एआई साक्षरता अहिलेको आवश्यकता हो।

मानव सभ्यताको विकासक्रममा ‘साक्षरता’ को परिभाषा निरन्तर विकसित हुँदै आएको छ। विगतमा अक्षर चिन्ने, पढ्न र लेख्न जान्ने व्यक्तिलाई ‘साक्षर’ भनिन्थ्यो। तर, प्रविधिको द्रूत विकासले यो परम्परागत परिभाषालाई चुनौती दिएको छ। आजको युगमा प्रविधि हाम्रो दैनिक जीवनको अभिन्न अङ्ग बनिसकेको छ।

स्मार्टफोनदेखि स्मार्ट घरसम्म, प्रविधिले हाम्रो जीवनशैलीलाई पूर्ण रूपमा रूपान्तरण गरिरहेको छ। यसैले, अब साक्षरताको परिभाषा पनि बदलिएको छ। पढ्न–लेख्न जानेर मात्र पुग्दैन, प्रविधिमा साक्षर बन्नु अपरिहार्य भएको छ। र, यसको केन्द्रमा छ–आर्टिफिसियल इन्टेलिजेन्स (एआ) अर्थात् कृत्रिम बौद्धिकता।

आगामी दिनहरूमा एआई साक्षरता आवश्यकता मात्र होइन, अनिवार्य बन्ने अवस्था सिर्जना हुँदैछ। अबको जमानामा साँचो साक्षरता भन्नाले डिजिटल र कृत्रिम बौद्धिकताको उपयोग गर्नसक्ने क्षमतालाई मानिनेछ। जसरी विगतमा हाम्रा पुर्खाहरू साक्षर नहुँदा पीडामा हुन्थे । त्यसैगरी अहिलेका युवापुस्ता एआई साक्षर नबन्दा आगामी केही वर्षमै रोजगारी, शिक्षा र सूचनाका नयाँ ढोकाहरूबाट वञ्चित हुनेछन्।