एमाले नेताको सहकारीलाई ३५ दिने अल्टिमेटम

नेकपा एमालेको सहकारी तथा गरिबी निवारण विभागका तत्कालिन सचिव तथा राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेती अध्यक्ष रहेको आईडल यमुना हाम्रो बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका सञ्चालक तथा ऋणीलाई कर्जा तिर्न एक महिने अल्टिमेटम दिइएको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गतको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले ऋण चुक्ता गर्न ३५ दिनको समय दिएको हो । कार्यालयले सूचना जारी गर्दै तोकिएको समयभित्र ऋण चुक्ता नगरेमा बैंक खाता रोक्का, राहदानी रोक्का, अचल सम्पत्ति रोक्का, सरकारी सेवाबाट वञ्चित गर्ने, कालोसूचीमा राख्ने चेतावनी दिएको छ ।

त्यसैगरी, बचतकर्ताको रकम हिनामिनाको कसूरमा मुद्दा पनि चलाइने कार्यालयले जनाएको छ । ‘सहकारी संस्थाका सञ्चालक, ऋणी सदस्य, व्यवस्थापक, कर्मचारीहरु, जमानीकर्ताको नाउँमा सहकारी संस्थालाई तिर्न बुझाउनुपर्ने दायित्व समयमा बुझाउनुपर्नेमा दायित्व रकम बुझाउन आलटाल गर्नुभएकोले ३५ दिनको सार्वजनिक सूचना प्रकाशित गरिएको छ’,सूचनामा उल्लेख छ ।

हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारी संस्था, नागरिक कल्याण बहुउद्देश्यीय संस्था, तपाईँ हाम्रो बहुउद्देश्यीय सहकारी संस्था, आईडल यमुना बहुउद्देश्यीय सहकारी संस्था, घेद्रुङ बहुउद्देश्यीय सहकारी संस्था गाँभिएर बनेको सो सहकारीमा बचतकर्ताको आठ अर्ब रुपैयाँ अपचलन भएको छ ।

सहकारीको रकम हिनामिनाको आरोप लागेपछि एमालेले उनलाई सचिवको जिम्मेवारीबाट हटाएको थियो । बचतकर्ताले बचत अपचलन गरेको भन्दै उजुरी दिएपछि गत असारमा काठमाडौंको बालाजुबाट प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।

काठमाडौं जिल्ला अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाएको छ । यता, मन्त्रालयले उक्त सहकारीलाई सहकारी ऐन, २०७४ को दफा १०४ बमोजिम समस्याग्रस्त घोषणा गरिसकेको छ ।