माओवादीले देखायो पार्टी एकताको संकेत

प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले केन्द्रीय समितिमा जति पनि सदस्य थप्ने बाटो खोलेको छ। माओवादीको जेठ १२ गते बसेको पदाधिकारी बैठकले थप १० प्रतिशत मात्रै केन्द्रीय सदस्य मनोनयन विधानको व्यवस्थालाई निष्क्रिय पार्ने निर्णय गरेको हो।

यसअघि माओवादीको विधानमा पार्टी एकता वा समायोजन हुँदा सम्बन्धित समितिको कुल सदस्य संख्याको १० प्रतिशतसम्म मात्रै थप्ने व्यवस्था छ। तर, माओवादीले पदाधिकारी बैकपछि जारी गरिएको परिपत्रमा हाललाई उक्त प्रावधानलाई तत्काल निष्क्रिय बनाउने पार्ने उल्लेख छ।

‘पार्टी विधानको प्रावधान अनुसार पार्टी एकता वा समायोजन हुँदा सम्बन्धित समितिको कुल सदस्य संख्याको १० प्रतिशतसम्म समायोजन गर्न सकिने प्रावधान रहेकोमा पार्टी एकता, समायोजन र ध्रुविकरणको आवश्यकता र महत्वलाई ध्यानमा राखी आगामी केन्द्रीय समितिको बैठक र महाधिवेशनप्रति जवाफदेही हुने गरी उक्त प्रावधानलाई तत्काल निस्क्रिय बनाउने’, महासचिव देव गुरूङले जारी गरेको परिपत्रमा भनिएको छ।

माओवादीमा अहिले ४०८ जना केन्द्रीय सदस्य छन्। विधानको व्यवस्था अनुसार थप ४० जनाभन्दा बढी थप्न पाइँदैन्थ्यो। परिपत्रपछि अब केन्द्रीय सदस्य जति पनि बनाउने बाटो खुलेको माओवादी केन्द्रले जनाएको छ ।