विगत दुई साता भन्दा लामो समयदेखि कार्यसूचीमा प्रवेशै नगरी अवरुद्ध हुँदै आएको संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आजका लागि पनि बोलाइएको छ।
बैठक आज बिहीबार अपराह्न ३ बजे बस्ने गरी समय निर्धारण गरिएको संसद् सचिवालयले जनाएको छ।
भिजिट भिसा प्रकरणमा विपक्षी दलहरुले जेठ १३ गतेदेखि लगातार प्रतिनिधिसभाको बैठक अवरुद्ध गर्दै आएका छन्।
विपक्षी दलहरुको अवरोधको कारण प्रतिनिधिसभाको बैठक नियमित कार्यसूचीमा प्रवेश नै नगरी स्थगित हुँदै आएको छ। उनीहरुले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक पनि जोडिएको भन्दै उनको राजीनामा माग गर्दै आएका छन्।
पटक – पटक सहमतिका लागि दलहरुबीच छलफल भएपनि अहिलेसम्म कुनै निष्कर्ष निस्कन सकेको छैन। दलहरुबीच सहमती नभएकाले आज पनि बैठक सञ्चालन हुने नहुने निश्चित छैन।
 
                         
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
                                             
                             
                            
                         
                             
                                                     
                            
 
                             
                             
         
         
         
         
         
         
                             
                             
                            