उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालका मधेश प्रदेशसभा सदस्य सरोजकुमार सिंह भ्रष्टाचार मुद्दामा पक्राउ परेका छन् ।
उनलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले काठमाडौंको अनामनगरबाट पक्राउ गरेर हिरासतमा लिएको हो । मधेशका पूर्वमन्त्रीसमेत रहेका उनीमाथि अख्तियारले भ्रष्टाचार प्रकरणमा छानबिन गरिरहेको छ ।
महोत्तरी क्षेत्र नम्बर–४ (ख) बाट प्रदेश सभामा निर्वाचित सिंहको महोत्तरीस्थित घरमा अख्तियारले १२ जेठमा छापा मारेर कागजात जफतका साथै उनका स्वकीय सचिव ६५ वर्षीय विनोदकुमार लाल कायस्थलाई पक्राउ गरेको थियो ।
प्रदेश सांसद विकास कोषको रकम हिनामिना गरी भ्रष्टाचारको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई पक्राउ गरेको हो ।
उपभोक्ता समिति गठन गरेर सांसद विकास कोषको रकम समितिको खातामा दाखिला भएको रकम आफ्नो निजी सचिव कायस्थमार्फत झिक्न लगाउने गरेको आरोप उनलाई थियो । सांसद सिंहले आफ्नो र श्रीमतीको खातामा रकम जम्मा गर्न लगाएर भ्रष्टाचार गरेको आरोप अख्तियारले लगाएको छ ।
यसअघि काठमाडौंबाट गएको अख्तियारको टोलीले जनकपुर उपमहानगरपालिका ९ सरस्वती टोल बस्ने कायस्थलाई नियन्त्रणमा लिइसकेको छ। अख्तियारले मधेस प्रदेश सांसद सिंहले प्रयोग गरिरहेको मोबाइल फोन पनि नियन्त्रणमा लिएको थियो ।