पुँजीकोष अनुपातमा दबाब नभएका र थप कर्जा लगानी गर्न नसक्ने क्षमता भएका बैंकहरुले पुरानै ब्याजदरलाई असारमा निरन्तरता दिएका छन्। तर ग्लोबल आइएमई बैंक र नेपाल बैंक लिमिटेड भने यसका अपवाद हुन्।
यी दुबै बैंकको कर्जा निक्षेप अनुपात र पुँजीकोष सहज भएपनि मुद्दती निक्षेपको ब्याजदरलाई स्थिर राखेका छन्। यी बैंकहरु थप ब्याजदर नघटाउने मनस्थितिमा देखिएका छन्।
निक्षेपकर्ताको बचत गर्ने मनोबलमा कमी आउन नदिन र निक्षेप खोसाखोसको स्थिति आउन नदिन यी बैंकहरुले ब्याजदर नघटाउने नीतिमा देखिएका छन्।
यता कर्जा निक्षेप अनुपात र पुँजीकोष सहज भएका सानिमा बैंक, एभरेष्ट बैंक, नेपाल एसबीआई बैंक र एनएमबि बैंकले आफ्नो मुद्दती निक्षेपको ब्याजदर घटाएर कर्जाको ब्याजदर थप घटाउने रणनीतिमा देखिएका छन्।
निक्षेपको लागत कम गरेर आगामी समय कर्जाको ब्याजदर थप सस्तो बनाउने रणनीतिमा ती बैंकहरु देखिन्छन्। पुँजीकोषमा दबाब र खराब कर्जामा दबाब रहेको कुमारी बैंकले पनि ब्याजदर घटाएको छ।
यस बाहेक नबिल बैंक, प्रभु बैंक, राष्ट्रिय वाणिज्य बैंक, प्राइम कमर्सियल बैंक, माछापुच्छ्रे बैंक लगायतका अधिकांश बैंकहरुले पुरानै ब्याजदरलाई निरन्तरता दिएका छन्।
बैंकिङ प्रणालीमा करिब ८ खर्ब अधिक लगानीयोग्य रकम रहेपनि अर्थतन्त्रमा कर्जाको माग बढ्न सकेको छैन। कर्जाको माग नबढेकाले बैंकहरुले विगत २ वर्षयता निरन्तररुपमा निक्षेप तथा कर्जाको ब्याजदर घटाउँदै आएका छन्। यस महिना पनि निक्षेपको ब्याजदर घटाउने बैंकहरुको साउनमा थप कर्जाको ब्याजदर घट्ने देखिएको छ।
असारका लागि कुमारी बैंकले मुद्दती निक्षेपको ब्याजदर घटाएको छ। यस बैंकले मोवाइल एप्समार्फत गरिने व्यक्तिगत मुद्दती निक्षेपमा प्रोत्साहन गर्न बढी ब्याजदर तोक्दै आएको छ।
असारका लागि यस बैंकले ३ देखि ६ महिनाको मुद्दती निक्षेपमा ३.९१ प्रतिशत, ६ देखि १ वर्षसम्मको मुद्दती निक्षेपमा ४.११ प्रतिशत, १ देखि २ वर्षको मुद्दती निक्षेपमा ४.६१ प्रतिशत, २ वर्षभन्दा बढी अवधिको मुद्दती निक्षेपमा ५.५१ प्रतिशत ब्याजदर तोकेको छ।
राष्ट्रिय वाणिज्य बैंकले जेठ महिनाकै मुद्दती निक्षेपको ब्याजदरलाई असारका लागि पनि निरन्तरता दिएको छ। असारमा यस बैंकले ३ महिनादेखि १ वर्षसम्मको मुद्दती निक्षेपमा ४ प्रतिशत, १ वर्षदेखि २ वर्षसम्मको मुद्दती निक्षेपमा ५ प्रतिशत र सोभन्दा बढी अवधिको मुद्दती निक्षेपमा ६ प्रतिशत ब्याज दिने भएको छ।
प्रभु बैंकले पनि जेठकै मुद्दती निक्षेपको ब्याजदरलाई असारमा निरन्तरता दिएको छ। यस बैंकले ६ महिनादेखि २ वर्षसम्म ५.१ प्रतिशत, २ वर्षदेखि ५ वर्ष अवधिको मुद्दती निक्षेपमा ५.६० प्रतिशत र ५ वर्षभन्दा बढी अवधिको मुद्दती निक्षेपमा ६.१ प्रतिशत ब्याजदर दिँदै आएको छ। यस्तै हिमालयन बैंकले पनि पुरानै ब्याजदरलाई निरन्तरता दिएको छ।
एभरेष्ट बैंकले दीर्घकालिन मुद्दनी निक्षेपको ब्याजदर भने बढाएको छ। ५ वर्षभन्दा बढी अवधिको मुद्दती निक्षेपमा ६.५५ प्रतिशत ब्याजदर दिदै आएमा असारका लागि ६.६४ प्रतिशत तोकेको छ। यस बाहेका ३ देखि १ वर्षसम्मको मुद्दती निक्षेपमा ४ प्रतिशत, १ वर्षदेखि २ वर्ष अवधिको मुद्दती निक्षेपमा ४.२५ प्रतिशत र दुई वर्षभन्दा बढी अवधिको मुद्दती निक्षेपमा ४.५० प्रतिशत ब्याजदरलाई यस बैंकले असारमा पनि निरन्तरता दिएको छ।
एनएमबि बैंकले असारका लागि ३ देखि ५ वर्ष अवधिको मुद्दती निक्षेपको ब्याजदर ०.५ प्रतिशत आधार विन्दुले घटाएर ५ र ५ वर्षभन्दा बढी अवधिको मुद्दती निक्षेपको ब्याजदर ०.६ प्रतिशत आधार बिन्दुले घटाएर ६ प्रतिशत कायम गरेको छ। यस बाहेका अन्य अवधिको ब्याजदरलाई असारमा महिनामा यस बैंकले स्थिर राखेको छ।
सानिमा बैंकले पनि असार महिनाका लागि ब्याजदर घटाएको छ। यस बैंकले असारका लागि ३ देखि ६ महिना अवधिको साधारण मुद्दती निक्षेपको ब्याजदर ०.२ प्रतिशत आधार बिन्दुले घटाएर ३.३ प्रतिशत, १ वर्षदेखि २ वर्ष अवधिको मुद्दती निक्षेपको ब्याजदर पनि ०.२ प्रतिशत आधार बिन्दुले घटाएर ४.६ प्रतिशत, २ वर्षदेखि ३ वर्ष अवधिको मुद्दती निक्षेपको ब्याजदर ३.५ प्रतिशत आधार बिन्दुले घटाएर ५.३० प्रतिशत र ३ वर्षदेखि ५ वर्ष अवधिको मुद्दती निक्षेपको ब्याजदर ५.९५ प्रतिशतबाट घटाएर ५.६५ प्रतिशत ब्याजदर तोकेको छ।
प्राइम कमर्सियल बैंकले पुरानै ब्याजदरलाई असार पनि निरन्तरता दिएको छ। यस बैंकले मुद्दती निक्षेपमा अवधिका न्युनतम ५ प्रतिशतदेखि अधिकतम ६.२५ प्रतिशतसम्म ब्याजदर दिइरहेको छ।
नेपाल एसबीआई बैंकले पनि मुद्दती निक्षेपको ब्याजदर घटाएको छ। यस बैंकले ३ देखि ६ महिना अवधिको साधारण मुद्दती निक्षेपको ब्याजदर ३.५ प्रतिशतबाट ३.२५ प्रतिशत, ६ देखि १ वर्षसम्मको मुद्दती निक्षेपको ब्याजदर ४.०५ प्रतिशतबाट घटाएर ४ प्रतिशत र १ वर्षदेखि २ वर्ष अवधिको मुद्दती निक्षेपको ब्याजदर ४.१५ प्रतिशतबाट घटाएर ४.१० प्रतिशत तोकेको छ।
नबिल बैंकले पनि साधारण मुद्दती निक्षेपमा जेठकै न्युनतम ५ प्रतिशतदेखि अधिकतम ५.७५ प्रतिशतको ब्याजदरलाई निरन्तरता दिएको छ। नेपाल बैंक लिमिटेडले पनि जेठकै साधारण मुद्दती निक्षेपको ब्याजदर न्युनतम ४ प्रतिशतेदेखि अधिकतम ५.४५ प्रतिशतलाई निरन्तरत दिएको छ।
यस्तै ग्लोबल आइएमई बैंकले पनि पुरानै ब्याजदरलाई निरन्तरता दिएको छ। यस बैंकले अवधिकका आधारमा न्युनतम ४ प्रतिशतदेखि अधिकतम ६ प्रतिशतसम्म साधारण मुद्दती निक्षेपमा ब्याज दिइरहेको छ।
माछापुच्छ्रे बैंकले जेठकै साधारण मुद्दती निक्षेपको न्युनतम ब्याजदर ३.५ प्रतिशत र अधिकतम ६ प्रतिशतलाई असार पनि निरन्तरता दिएको छ।