चीनको उत्तर पश्चिमस्थित सिन्जियाङ उइगुर स्वायत्त क्षेत्र पछिल्लो समय आर्थिक हिसाबले थप समृद्धितर्फ लम्किरहेको छ ।
राजधानी उरुम्छीलगायत विभिन्न शहर, बजार तथा ग्रामीण क्षेत्रमा भएका विकास, कृषि तथा भौतिक पूर्वाधारमा प्राप्त परिणामले थप समृद्धिलाई संकेत गरेको सहजै अनुमान लगाउन सकिन्छ ।
उइगुर, हान, कजाखलगायत ४७ जातीय समूहको आवादी रहेको यो स्वायत्त क्षेत्रमा जातीय र धार्मिक सद्भाव पनि कसिलो देखिन्छ । मस्जिदमा प्रार्थना गर्ने इस्लाम धर्मावलम्बी र बौद्ध गुम्बामा धुप बालेर ध्यान गर्नेहरुको सम्मिश्रण पनि सिन्जियाङ स्वायत्त क्षेत्रको बेजोड नमूनामध्ये एक हो ।तेल तथा ग्यासमा समृद्ध यो स्वायत्त प्रदेशले कृषि उत्पादन,औद्योगिक, व्यापार,सौर्य ऊर्जा र पर्यटनमासमेत ठूलो फड्को मार्न थालेको देखिन्छ । राजधानी उरुम्छीको अन्तर्राष्ट्रिय ग्राण्ड बजारमा देखिएको भीडले पनि यहाँको फस्टाउँदै गएको पर्यटनसँगैको व्यापारलाई उजागर गर्छ ।
पौने तीन करोड जनसंख्या रहेको स्वायत्त प्रदेशको राजधानीको एउटा ऐतिहासिक बजार घुम्न आउने पर्यटकको संख्या दैनिक एक लाख ३० हजार नाघ्न थालेको बताइन्छ ।
प्रख्यात स्थानीय रोटी ‘नान’का सयौं परिकार,ड्राइ फुड्स,फलफूल हस्तकलाका सामाग्री बिक्री हुने उक्त बजारमा पुग्ने पर्यटकबाट वार्षिक ५ करोड चिनियाँ युआनको कारोबार हुने गरेको पाइएको छ ।