नेकपा एकीकृत समाजवादीका सांसद राजेन्द्र पाण्डेले प्रतिपक्षी दलहरुको विरोधका बीच संसद् नचलाउन सभामुख देवराज घिमिरेलाई आग्रह गर्नुभएको छ ।
आज आइतबारको प्रतिनिधिसभाको बैठकमा प्रतिपक्षी दलहरु रास्वपा र राप्रपाले भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्रीको राजीनामा माग्दै संसद्मा विरोध जनाइरहेका छन्।
विपक्षीले नाराबाजी गरेपछि संसद्मा बजेटमाथि भइरहेको छलफल प्रभावित भएको भन्दै पाण्डेले सहमति गरेर मात्रै बैठक चलाउन अपिल गर्नुभएको हो ।
‘मान्य मन्त्रीज्यूले यति महत्वपूर्ण कुरा सुनाइरहनु भएको छ, प्रतिपक्षमा रहेका दलमध्य एउटा दल अवरोधको अवस्थामा छ,’ पाण्डेले भन्नुभयो, ‘नाराबाजीमा छ। यो नाराबाजीको अवस्थामा मन्त्रीज्यूले भनेको कुरा हामी सुनिरहेका छैनौँ। अनि कसरी यो सभा चलाउने हो ?’
उहाँले थप्नुभयो, ‘यो सभा चलाउने अहिलेको तरिका भएन सभामुख महोदय। यो स्थगित गरेर, सहमति गरेर, एउटा टुंगो गरेर मात्रै अगाडि बढाइयोस्।’