चीनको सिन्जियाङ स्वायत्त प्रदेशको राजधानी उरुमुछीमा पनि नेपाल र दक्षिण एसियाली मुलुकका संगीतमा झैँ सहनाई,सितार र डम्फु बजाइएको छ ।
सन् १९८९ मा स्थापित सिन्जियाङ मुकाम आर्ट ट्रुपका व्यावसायिक कलाकारहरुको समूहले विदेशी तथा स्वदेशी सञ्चारकर्मी, लेखकहरुलाई आफ्नो कला प्रस्तुतीबाट प्रभावित बनाएको छ ।
परम्परागत सहनाई,सितार र डम्फुको तालमा नाच्नु सिन्जियाङबासीका लागि दैनिकीको अभिन्न अंग भइसकेको मुकामको आर्ट थिएटरकी प्रमुख नृत्य निर्देशक प्राध्यापक चन वेइले बताउनुभयो ।
प्रेमगीत वान थनसुमा प्रस्तुत नृत्य र गीतसँगै संगीतमा प्रयोग भएका वाद्यवादनले हलमा पुगेका विदेशीहरुलाई समेत मन्त्रमुग्ध पारेको थियो ।
विशेषगरी दक्षिण एसियाका नेपाललगायत भारत,पाकिस्तान, बंगलादेशमा प्रयोग हुने सहनाई, सितार र डम्फु सिन्जियाङमासमेत शताब्दीऔंदेखि प्रयोग हुँदै आएको यसअघि थिएटरबारे जानकारी गराउने क्रममा निर्देशक तिलिसिआती पाएरहातीले बताउनुभयो ।
यो थिएटर विशेषगरी सिन्जियाङका स्थानीय गीत संगीतको संकलन, अनुसन्धान,प्रस्तुती र संरक्षणमा निरन्तर लागिपरेको छ । सन् २००५ देखि युनेस्कोले ‘द उइगुर मुकाम अफ सिन्जियङ चाइना’ लाई मानवतासम्बन्धी अमूर्त सांस्कृतिक सम्पदा सूचीमा सूचीकृत गरिसकेको छ ।
सिन्जियाङको जीवन्त कलालाई चिनियाँ परम्परागत संस्कृतिमा एउटा अभिन्न भागको रुपमा उइगुर सामाजिक जीवनको रुपमा देख्न सकिन्छ ।
स्थानीय भाषामा ‘मुकाम’ को अर्थ गीत र संगीतको बेजोड सम्मिश्रण हो । पछिल्लो समय यसलाई राष्ट्रिय सम्पदा र ऐतिहासिक सिल्क रोडको मोतीको रुपमा लिइएको पाइन्छ ।