इरानमा रहेका नेपालीलाई भारतले उद्दार गर्ने

इजरायल–इरान युद्धका कारण इरानमा समस्यामा परेका नेपाली नागरिकलाई भारत सरकारले उद्धार गर्ने भएको छ ।

नेपाल सरकारको अनुरोधमा उनीहरूलाई इरानस्थित भारतीय दूतावासले उद्धार गर्ने भएको हो । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले इरानमा १६ नेपाली नागरिक रहेकाले आफ्ना नागरिकको उद्धार गर्ने क्रममा नेपालीलाई पनि उद्धार गरी ल्याइदिन भारत सरकारसँग आग्रह गर्नुभएको हो ।

“इरानमा हाम्रा पनि सानो संख्यामा नेपाली नागरिक हुनुहुन्छ । यहाँहरुले आफ्ना नागरिकको उद्धार गर्ने क्रममा नेपालीहरुलाई पनि उद्धार गरिदिनुहोला भनी मैले भारतीय राजदूत नवीन श्रीवास्तव मार्फत भारत सरकारलाई आग्रह गरेकी थिएँ,” परराष्ट्रमन्त्री डा. राणाले भन्नुभयो, “हामी उहाँहरूको सहयोगको प्रतिक्षामा छौँ ।”

एक सातादेखि जारी इजरायल–इरान युद्धका कारण इरानमा रहेका नेपालीको उद्धारका लागि मन्त्री डा राणाले भारतका लागि नेपाली राजदूत डा। शंकर शर्मालाई पनि आवश्यक समन्वय गर्न निर्देशन दिनुभएको थियो ।
इरानस्थित भारतीय दूतावासले नेपालको अनुरोध स्वीकार गरेपछि आजै शनिबार परराष्ट्र मन्त्रालयले इरानमा रहेका नेपालीलाई सम्पर्क गरी भारतीय दूतावासको सम्पर्कमा जान भनेको छ । इरानस्थित भारतीय दूतावासले पनि सो सूचना जारी गरेको छ ।