लगानीकर्ता डुबाउने देशको अर्थतन्त्र सिध्याउने टेक एण्ड पे नीति : ऊर्जा उद्यमी

ऊर्जा उद्यमीहरुले यदि टेक एण्ड पे को नीति लागू भएमा नेपालको उर्जाछेत्र अध्यारोतिर धकेलिने बताएका छन् । सरकारले बजेटमा ल्याएको विद्युत् खरिदमा ‘टेक एन्ड पे’ प्रावधान फिर्ता लिन माग गर्दै ऊर्जा उद्यमी सामाजिक सञ्जालमा समेत आएका छन् । उनीहरूले प्रधानमन्त्री, अर्थमन्त्री, ऊर्जामन्त्री र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकलाई मेन्सन गरेर पीपीएमा टेक एन्ड पे प्रावधान फिर्ता लिन आग्रह गरेका छन् ।

आन्दोलनको तेस्रो दिन ऊर्जा उद्यमी सामाजिक सञ्जालमा आएर –‘ऊर्जामा निजी क्षेत्र समाप्त पार्ने, लोडसेडिङ निम्त्याउने, लगानीकर्तालाई डुबाउने र देशको अर्थतन्त्र सिध्याउने टेक एन्ड पे पीपीए खारेज गर’ भन्दै उक्त प्रावधानको विरोध गरिरहेका छन् ।

यसअघि गत शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर ज्ञापनपत्र बुझाएका प्रवर्द्धकले शनिबार प्रधानमन्त्री ओलीसहित, अर्थमन्त्री विष्णु पौडेल, ऊर्जामन्त्री दीपक खड्का र प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई एकै पटक सयौँ एसएमएस गरेर टेक एन्ड पे प्रावधान फिर्ता लिन आग्रह गरिसकेका छन् । शुरुमा ऊर्जामन्त्री सकारात्मक भएपनि अर्थमन्त्रीको नकारात्मकता सहितको टिप्पणीले अझ समस्या बल्झिएको हो  ।