राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा स्वर्णिम वाग्लेले प्रत्यक्ष निर्वाचित कार्यकारीमा जानुपर्नेमा जोड दिनुभएको छ। त्यस्तै बढीमा १५ जना विज्ञहरूबाट मन्त्रिपरिषद् गठन गर्न सक्ने व्यवस्था हुनुपर्ने समेत उहाँको भनाई छ ।
‘मुद्दाको हिसाबले प्रत्यक्ष कार्यकारीमा जानुपर्छ भन्ने हाम्रो पार्टीको मान्यता हो,’ मिडियासँगको कुराकानीमा वाग्लेले भन्नुभयो, ‘सांसदबाट प्रधानमन्त्री र मन्त्री बन्ने प्रणाली हुनुहुँदैन। प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीले बढिमा १५ जना विज्ञहरूबाट मन्त्रिपरिषद् गठन गर्न सक्ने व्यवस्था हुनुपर्छ।’
अहिले संघ र प्रदेश गरी नेपाल ८८४ जना सांसद रहेको भन्दै त्यति आवश्क नरहेको उहाको विचार छ। ‘यति धेरै सांसद आवश्यकता छैन,’ वाग्ले भन्नुहुन्छ, ‘संघमा प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री हुने भए प्रदेशमा पनि मुख्यमन्त्री प्रत्यक्ष निर्वाचित हुनुपर्छ।’
उहाँले थप्नुहुन्छ, ‘केहीले रास्वपालाई संघीयता विरोधी भनेर पनि चित्रण गरिन्छ। त्यो गलत हो। हालको प्रदेश स्वरूपले डेलिभर गर्न सकेन। सात वटा प्रदेशको पहिचान कायम राखौँ।
संघमा जस्तै प्रदेशको प्रत्यक्ष निर्वाचित मुख्यमन्त्रीले विज्ञहरूबाट ४/५ जनाको मन्त्रिपरिषद् गठन गर्न सक्ने व्यवस्था हुनुपर्छ।’
त्यस्तै पालिकाको संख्या हटाउनुपर्ने मत समेत वाग्लेको छ। ‘अहिलेको ७५३ गाउँपालिका/नगरपालिकालाई घटाएर ५०० भन्दा कम राख्नुपर्छ,’ उहाको भनाइ छ, ‘यहाँनेर प्रदेशको भूमिका भनेको समन्वय मात्रै हुनुपर्छ।’
त्यस्तै ३५ जना जतिको समावेशी स्वरूपको राष्ट्रियसभा भए पुग्ने वाग्लेको तर्क छ।