सरकारले दुईपांग्रेमा युरो ५ र चारपांग्रेमा युरो ६ प्रदूषण मापदण्ड लागू गरेको छ।
वन तथा वातावरण मन्त्रालयले सोमबार राजपत्रमा सूचना प्रकाशित गर्दै युरो ३ को व्यवस्थालाई संशोधन गरेको हो।
‘दुईपांग्रे, तीनपांग्रे र चारपांग्रे लघु सवारीसाधनको हकमा युरो ५ र कम्तीमा चारपांग्रा भएका सवारीसाधनको हकमा युरो ६ मापदण्ड बमोजिमको प्रदूषण परीक्षण मान्य हुनेछ।’
सरकारले नीति तथा कार्यक्रममा आगामी वर्षबाट युरो ६ मापदण्ड लागू गर्ने बताएको थियो। मन्त्रिपरिषद्मा युरो ६ मापदण्डको प्रस्ताव पुगे पनि विभिन्न कारण देखाउँदै फिर्ता आएको थियो।
विद्युतीय सवारीलाई प्रवर्द्धन गरिरहेको नेपालले युरो ३ कै गाडी आयात गर्न दिई प्रदूषण बढाउने सहयोग पुर्याएको थियो। युरो ३ को तुलनामा युरो ६ का गाडीले कम प्रदूषण गर्छन्।
राजपत्रअनुसार असार ९ गतेसम्म प्रतीतपत्र वा बैंकको माध्यमबाट भुक्तानी गरिसकेको भुक्तानीबमोजिम नेपालमा आयात गरिने सवारीसाधन तथा नेपालमा एसेम्बल हुने वा उत्पादन हुने सवारीसाधनमा प्रदूषण मापदण्ड २०६९ लागू हुनेछ।