प्राकृतिक विपत्ती : सरकारको ६ निर्णय

मनसुनसँगै प्राकृतिक विपद्को जोखिम बढेको छ । कतिपय राजमार्ग अवरुद्ध छ भने कतिपय स्थानमा बाढीले सडक बगाएको छ ।

जसका कारण धेरै सवारी साधन बीच बाटोमै अलपत्र परेका छन् ।

वर्षातमा हुनेसक्ने जोखिमलाई मध्यनजर गर्दै मनसुन प्रतिकार्य कमाण्ड पोष्टको दोस्रो बैठकले विविध निर्णय गरेको छ ।

जसअनुसार सम्भावित जोखिम रहेका क्षेत्र,नदी,खोलानाला र पानीको बहावसमेत उच्च हुनसक्ने राष्ट्रिय राजमार्ग,स्थानीय सडक सञ्जालहरुमा आवश्यकताअनुसार सवारी साधन सञ्चालनमा रोक लगाउन ७७ वटै जिल्ला सुरक्षा समितिलाई निर्देशन दिन गृह मन्त्रालयलाई अनुरोध गर्ने निर्णय भएको छ ।

त्यसैगरी, पहिरोका कारण अवरुद्ध भएका सडक–राजमार्ग तत्काल सञ्चालनका लागि खाँचो पर्ने चालकसहित हेभी इक्युप्मेण्ट चौबिसै घण्टा तयारी अवस्थामा राख्न सडक विभाग र ७५३ वटै स्थानीय तहलाई आग्रह गर्ने भनिएको छ ।

तत्काल उद्धार र राहतमा प्रयोग हुने न्यूनतम सामग्रीहरु तयारी अवस्थामा राख्न, विशेष अवस्थामा सडक अवरुद्ध भई सवारी साधन चल्न नसक्ने परिस्थितिलाई ध्यानमा राखेर कम्तीमा १५ दिनको लागि खाद्यान्न अभाव नहुने व्यवस्था मिलाउन स्थानीय पालिकालाई आग्रह गर्ने निर्णय बैठकको छ । साथै, क्षमताभन्दा बढी भार भएका सवारी साधन सञ्चालनमा रोक लगाइने भएको छ ।

त्यसको प्रभावकारी कार्यान्वयन र कडाइका लागि भन्सार विभागसहित भौतिक पूर्वाधार तथा यातायात मन्त्रलय, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपाललाई अनुरोध गर्ने निर्णय बैठकले गरेको छ ।

जिल्लास्थित सुरक्षा समिति, विपद् व्यवस्थापन समितिले आवश्यकताअनुसार सवारी सञ्चालनसम्बन्धी गरेका निर्णयहरुको पूर्ण पालनामा जोड दिइने समितिले जनाएको छ ।

त्यसका लागि सार्वजनिक सवारी साधन सञ्चालन गर्ने विभिन्न यातायात व्यवसायी महासंघ, ढुवानी–पारवहनसम्बन्धी संघ र निजी सवारी साधनहरुलाई अनुरोध गर्ने र अटेर गर्ने सवारी साधनमाथि कारबाहीका लागि गृह मन्त्रालयमार्फत जिल्ला सुरक्षा समितिलाई निर्देशन दिइने निर्णय गरिएको छ ।