सम्पत्ति : भैँसेपाटीमा घर, ४५ तोला सुन, सानिमा बैंकमा साढे २ लाख कित्ता शेयर

bishwo poudel

नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्व पौडेलले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । उनले राष्ट्र बैंकमा असार असार ५ गते बुझाएको सम्पत्ति विवरणमा ललितपुरको भैँसेपाटी र नवलपुरको गैँडाकोटमा पत्नीको नाममा घर रहेको उल्लेख छ ।

भैँसेपाटीमा रहेको घर ५ आना २ दाम क्षेत्रफलमा फैलिएको छ । यस्तै, गैंडाकोटको घर दुई कित्ता गरी ६ आना १ दाममा फैलिएको उनले उल्लेख गरेका छन् । साथै, उनले करिब ४५ तोला सुनका गरगहना रहेको पनि उल्लेख गरेका छन् ।

पौडेलको नाममा सानिमा बैंकमा २ लाख ४४ हजार १७६ कित्ता साधारण शेयर छ । साथै, सानिमा माई हाइड्रोपावरमा ९२ हजार ५७९ कित्ता साधारण तथा सानिमा मिडल तमोरमा १ लाख ८८ हजार कित्ता प्रमोटर शेयर रहेको सम्पति विवरणमा उल्लेख छ ।

अन्य विभिन्न कम्पनीमा पनि शेयर रहेको उनले उल्लेख गरेका छन् । पत्नी र आफ्नो खातामा रहेको बैंक मौज्दातको विवरण पनि उनले उल्लेख गरेका छन् । साथै, श्रीमतीको नाममा सुजुकी कम्पनीको एउटा कार पनि रहेको उनले उल्लेख गरेका छन् ।