सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पसले अन्तरराष्ट्रिय सम्मेलन गर्ने भएको छ । क्याम्पसले भारतको झारखण्डस्थित एक्जोरा रिसर्च एसोसेसन संस्थाको सहकार्य एवं विश्वविद्यालय अनुदान आयोग, नेपाल अनुसन्धान नवप्रवर्तन तथा विकास केन्द्र सुदूरपश्चिम विश्वविद्यालय लगायत १४ वटा अन्य संस्थाहरूको सहयोगमा यही असार १३ र १४ गते दुई दिने अन्तरराष्ट्रिय सम्मेलन गर्ने भएको हो ।
क्याम्पसले ‘गुणस्तरीय शिक्षा र दिगो विकासका उदीयमान अनुसन्धान प्रवृत्ति र नवप्रवर्तनको बहुविधागत अनुसन्धान’ शिर्षकमा अन्तरराष्ट्रिय सम्मेलन गर्न लागेको जानकारी गराएको छ । उक्त अन्तरराष्ट्रिय सम्मेलनमा नेपाल, भारत, अमेरिका, डेनमार्क र बेलायतका विभिन्न क्षेत्रका अन्वेषणकर्ताहरूले अनलाइन र अफलाइन आफ्नो प्रस्तुतीकरण गर्ने अन्तरराष्ट्रिय सम्मेलनका निर्देशक डाक्टर मदनसिंह देउपाले बताए ।
“नेपाल लगायत भारत, अमेरिका, बेलायत र डेनमार्कका अनुसन्धानकर्ताको प्रस्तुति रहने बताउदै उनले उनीहरुले अनलाइन र भौतिक उपस्थितीमा आफ्नो प्रस्तुति दिने जानकारी गराए ।
उनले अन्तरराष्ट्रिय सम्मेलनको उदेश्य वर्तमानमा अनुसन्धानका क्षेत्रमा अनुसन्धानकर्ताले पत्ता लगाएका नतिजाहरुको आदान प्रदान गर्ने र उक्त क्षेत्रमा सहकार्यात्मक अनुसन्धान गर्ने तथा अनुसन्धानको क्षेत्रमा रहेका व्यक्तिको ‘प्रमोट’ गर्ने रहेको जानकारी गराए ।
केन्द्रीय क्याम्पसले पहिलो पटक गर्न लागेको सम्मेलनको प्रतिफल तत्काल नदेखिए पनि भविष्यमा राम्रो प्रतिफल दिने र शिक्षाको गुणस्तरमा वृद्धि हुने विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा मानविकी तथा सामाजिकशास्त्र विभागमा कार्यरत प्रा दीपकचन्द्र भट्टले बताए ।
विद्यार्थीहरुलाई अनुसन्धानसँग जोड्नका लागि सम्मेलनको आयोजना गरिएको सम्मेलनको विभिन्न सहआयोजक र अन्य सहयोगी संस्थाहरूबाट सहयोग लिएर सम्मेलन गर्न लागिएको अर्थ व्यवस्थापन संयोजक एवं उपप्राध्यापक कर्णदेव भट्टले बताए ।
विभिन्न समिति बनाएर सम्मेलनको तयारी भइरहेको क्याम्पसका प्रमुख एवं अन्तरराष्ट्रिय सम्मेलनका संयोजक कुम्भ चन्दले जानकारी गराए ।
सम्मेललनको तयारी अन्तिम चरणमा पुगेको बताउदै संयोजक चन्दले सम्मेलनमा प्राध्यापक, विज्ञ, शिक्षाविद्, अनुसन्धानकर्ता र विद्यार्थी गरी २ सय ५० जनाको सहभागिता रहने जानकारी गराए ।
खबर रफ्ताबाट साभार