उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीसँग नेपालका लागि अष्ट्रेलियाका राजदूत लियान जोन्स्टनबीच शिष्टाचार भेटवार्ता सम्पन्न भएको छ ।
भेटका अवसरमा मन्त्री भण्डारीले नेपाल–अष्ट्रेलिया द्विपक्षीय सम्बन्ध सुदृढ बनाउनेतर्फ राजदूत जोन्स्टनले खेलेको भूमिकाको प्रशंसा गर्नुभयो । उहाँले सन् २०२६ मा नेपाल अति कम विकसित मुलुकबाट स्तरोन्नति हुने तयारीमा रहेको उल्लेख गर्दै उक्त यात्रालाई सफल र दिगो बनाउने प्रयोजनका लागि अष्ट्रेलियाको थप स्रोत, प्रविधि र साझेदारी आवश्यक रहेकोमा जोड दिनुभयो ।
नेपाल र अष्ट्रेलियाबीच व्यापार तथा लगानीका दृष्टिले भएको साझेदारी उल्लेखनीय रहेको बताउँदै मन्त्री भण्डारीले दुबै मुलुकबीच भएको व्यापार तथा लगानी ढाँचा सम्झौताअनुसार संयन्त्रको बैठक छिट्टै आयोजना गर्नु उपयुक्त हुने धारणा व्यक्त गर्नुभयो ।
भेटका क्रममा नेपालका सम्भावनायुक्त क्षेत्रहरूमा अष्ट्रेलियाली लगानी विस्तारबारे व्यापक छलफल भएको छ । विशेषगरी धौबादी फलाम खानीसहित अन्य खानी तथा खनिज पदार्थको अन्वेषण, उत्खनन र प्राविधिक सहकार्यका लागि अष्ट्रेलियाको सहयोग र संलग्न जनशक्तिको क्षमता विकासमा साथ दिन राजदुत जोस्टन मार्फत अष्ट्रेलिया सरकारसँग मन्त्री भण्डारीले आग्रह गर्नुभयो ।
सो अवसरमा राजदूत जोन्स्टनले अष्ट्रेलियाली दूतावासमार्फत नेपालको व्यापार तथा लगानी प्रवद्र्धनमा भइरहेको प्रयासबारे जानकारी दिनुभयो । उहाँले नेपालको निजी क्षेत्र तथा अनुसन्धानमूलक संस्थासँगको सहकार्य र द्विपक्षीय संयन्त्रको बैठक शीघ्र आयोजना गर्न अष्ट्रेलियाको परराष्ट्र मन्त्रालयसँग आवश्यक समन्वय भइरहेको उल्लेख गर्नुभयो ।
अष्ट्रेलिया तथा अन्य देशहरूमा खनिज उत्खनन् क्षेत्रमा क्रियाशील अष्ट्रेलियाली कम्पनीहरू र नेपालका सम्बन्धित निकाय तथा निजी क्षेत्रबीच सहकार्य, लगानी र प्रविधि हस्तान्तरणका सम्भावनाबारे मन्त्री भण्डारी र राजदूत जोन्स्टनबीच विस्तृत छलफल भएको छ ।
भेटवार्ताको निष्कर्षस्वरूप खानी, व्यापार तथा लगानीका क्षेत्रमा दुबै देशका सरकारी तथा निजी क्षेत्रबीच समन्वय र सहकार्यलाई निरन्तरता दिने साझा प्रतिबद्धता व्यक्त गरिएको छ ।