परराष्ट्रमन्त्री राणाको यात्रा इटालीतर्फ

aarju

परराष्ट्रमन्त्री डा‍.आरजु राणा देउवा इटालीको रोममा यही जुन २८ देखि जुलाई ४ सम्म आयोजना हुने खाद्य तथा कृषि संगठन (एफएओ) कन्फ्रेन्सको ४४ औँ सत्रमा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गर्नुभएको छ ।

कन्फ्रेन्सको प्रमुख सत्र र यसका दौरानमा आयोजना हुने अन्य उच्चस्तरीय कार्यक्रमहरूलाई उहाँले सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

नेपाली प्रतिनिधिमण्डलमा अष्ट्रियाका लागि नेपाली राजदूत तथा एफएओका लागि नेपाली स्थायी प्रतिनिधि एवं परराष्ट्र र कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका अधिकारीहरु सहभागी छन्।

उक्त सम्मेलनपश्चात परराष्ट्रमन्त्री डा.राणा इटालीको मिलान तथा जर्मनीको ह्याम्बर्ग र बर्लिनमा लगानी बोर्ड नेपालद्वारा आयोजित कार्यक्रमहरूमा सहभागी हुनेछन्।

आज बिहान त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव अमृतबहादुर राईसहित उच्च अधिकारीहरूले परराष्ट्रमन्त्री डा‍.आरजु लाई विदाइ गरेका थिए।