राजा ज्ञानेन्द्र शाहले असार २३ गते ७९ औँ जन्मदिन मनाउँदै छन् । निर्मल निवासमा भव्य कार्यक्रम आयोजनागरी जन्मोत्सव मनाउन लागेको जानकारी गराइएको छ ।
राजाका सम्वाद सचिव डा.फणिराज पाठकका अनुसार जनचाहनाअनुसार यसपटक घरमै जन्मदिनको कार्यक्रम राखिएको हो । उक्त दिन निर्मल निवासमा आयोजना हुने समारोहमा ज्ञानेन्द्रले शुभकामना तथा अभिवादन ग्रहण गर्ने कार्यक्रम तय भएको जनाइएको छ ।
जन्मोत्सव समारोहमा जान चाहनेहरुलाइ निर्मल निवासले सार्वजनिक निम्तो पनि गरेको छ । शुभेच्छुक, विभिन्न संघसंस्था तथा आम नागरिकलाई उक्त दिन बिहान ११ देखि दिउँसो २ बजेसम्म निर्मल निवासको ढोका खुला रहने जनाइएको छ ।
राजाको जन्मदिनको अवसर पारेर राजावादीहरूले पनि विभिन्न कार्यक्रम गर्दैछन् । अघिल्ला वर्षहरूमा जस्तै पूर्वराजाको दीर्घायुको कामना गर्दै शुभकामना प्रकट गर्ने उनीहरुको तयारी छ ।