डोल्पा पहिरो र त्रिपुरामा बाढीले ५५ भन्दा बढी घरमा क्षति

डोल्पामा पहिरोले ५५ घरधुरीमा क्षति पुर्‍याएको छ ।

गए राति करिब साढे १२ बजेको समयमा काईके गाउँपालिका(४ रिवा गाउँमा पहिरो खसेको हो ।

गाउँभन्दा करिब ५०० मिटर माथिबाट लेदो सहित खसेको पहिरोले तीन वटा घर पूर्णरूपमा, १२ वटा घर आंशिक रूपमा र ४० वटा घरमा सामान्य क्षति पुगेको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ ।

पहिरोले काईके गाउँपालिका ४ का २१ वर्षीय मनराज बिक, ३२ वर्षीय सुरेन्द्र बिक र ५० वर्षीय धनलाल बिकको घर पूर्ण रूपमा क्षति पुगेको छ ।
आंशिक रूपमा १२ वटा घरहरूमा क्षति पुगेको छ ।

यसैगरी पहिरोले एक विद्यालयमा समेत क्षति पुर्‍याएको छ । पहिरोले रिवा गाउँस्थित पुथा आधारभूत विद्यालय भवन पूर्ण रूपमा क्षति पुगेको उनले बताए ।

पहिरोबाट विद्यालयमा करिब २० लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

यसैगरी डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका(३ भित्तीस्थित खोर खोलामा आएको बाढीले तटबन्द निमार्णका लागि राखिएका ८५ थान जाली बगाएर लगेको छ ।

त्रिपुरासुन्दरी नगरपालिका(३ का लालबहादुर दमाइ, शुद्व दमाइ र जयकुमार कठायतको घरमा बाढी पसेर क्षति पुगेको छ ।