एकल सन्तानले आमाको नामबाटै नागरिकता पाउने

एकल आमाका सन्तानलाई आमाको नामबाटै नागरिकता दिने प्रावधानसहित प्रस्तुत भएको नागरिकता विधेयक सामाजिक न्याय र लैङ्गिक समानताको हिसाबले ऐतिहासिक कदम भएको सांसदहरूले बताएका छन् ।

प्रतिनिधि सभाको आज शनिवारको बैठकमा नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथिको छलफलमा भाग लिँदै सांसदहरूले यस्तो धारणा राखेमा हुन् ।

एकल आमाले हुर्काएका सन्तानलाई आमाको नामबाट नागरिकता दिने विधेयकमा गरिएको व्यवस्था सकारात्मक रहेको उनीहरूको भनाइ छ ।

केही सांसदहरूले विदेशी श्रीमानसँग विवाह गरेका नेपाली महिलाका सन्तानलाई पनि नागरिकता दिनुपर्ने व्यवस्था गर्नुपर्ने बताए । नागरिकता नभएकै कारण राज्यबाट वञ्चित नागरिकहरूको समस्याहरू प्रस्तावित विधेयकले हल गर्नेमा उनीहरूको विश्वास छ ।

नेकपा (एकीकृत समाजवादी) का सांसद प्रकाश ज्वालाले बाबु गुमाएका वा बाबुको गैर जिम्मेवारीका कारण नागरिकता नपाएका सन्तान तथा विदेशमा सन्तान जन्माएर फर्किएकी नेपाली महिलाका सन्तानको अधिकार सुनिश्चित हुने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले विधेयकले कुनै पनि नागरिक नागरिकताबाट वञ्चित नहोस् भन्ने सुनिश्चितता गरेको बताउनुभयो ।

नेकपा (एमाले) की सांसद ज्वालाकुमारी शाहले नागरिकता विधेयकले महिलाको हक सुनिश्चित गरेको दाबी गर्नुभयो ।

नेपाली काँग्रेसका सांसद रामकृष्ण यादवले तराई–मधेसमा नागरिकता नपाएका नागरिकहरूले भोग्नुपरेको समस्या औँल्याउँदै नागरिकता विधेयकले ती समस्या समाधान गर्ने विश्वास व्यक्त गर्नुभयो ।

नेपाली आमाबाट जन्म भई नेपालमा नै स्थायी बसोवास गरेको बाबुको ठेगाना नभएको वा बेपत्ता भएको अथवा सहयोग नगरेको मानिसलाई पनि जिल्लाबाटै नागरिकता दिने व्यवस्था नागरिकता विधेयकमा गरिएको छ ।