प्रस्तावित न्यायाधीश पोखरेल प्रक्रियाबाट बाहिरिनुपर्छ : एमाले

नेकपा एमालेले सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश मेघराज पोखरेललाई प्रक्रियाबाट बाहिरिन आग्रह गरेको छ।

एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले आइतबारको संसदीय सुनुवाइका क्रममा प्रस्तावित न्यायाधीश पोखरेललाई बाँकी प्रक्रियाबाट अलग्गिन आग्रह गर्नुभएको हो ।

संसदीय सुनुवाइ समितिको बैठकमा प्रस्तावित न्यायाधीशहरूको सुनुवाइ चलिरहेको छ।

बर्तौलाले सर्वोच्च बारको अध्यक्षमा करिब डेढ वर्षको कार्यकाल बाँकी रहँदा राजीनामा गरेर न्यायाधीशको प्रक्रियामा आउनुले न्यायिक विचलन हुन सक्ने तर्क गर्नुभयो ।

समितिको बैठकमा कांग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले पनि केही समयअघि मात्रै बारको अध्यक्षमा निर्वाचित भएको व्यक्ति दुई वर्ष नपुग्दै सर्वोच्चको न्यायाधीशमा जान उचित नहुने जिकिर गर्नुभयो ।

समितिको बैठकमा एमाले सचेतक सुनिता बरालले सुनुवाइको क्रममा रहेका सबै प्रस्तावित न्यायाधीश राजनीतिक दलहरूसँग आबद्ध रहेको सुनिएको भन्दै न्याय सम्पादनमा यसले कति असर गर्छ भन्दै प्रश्न गर्नुभयो ।