भरतपुर–२७ मेघौलीका सुनिल मर्दनिया तीन वर्षदेखि साउदी अरबको रियाद जेलमा छन् ।
श्रम गरेरै वैदेशिक रोजगारीमा गएका उनलाई कम्पनीको गाडी चलाउँदै गर्दा रक्सी,ड्रग्स लगायतका मुद्दामा फसाइएको परिवारको भनाइ छ ।
सँगैको साथीचाहिँ अलिकति पैसा तिरेर उम्किए । सुनिललाई ठूलै जरिवाना गरिएका कारण जेलबाट निकाल्न सकिएको छैन ।
‘नेपाली २३ लाख रुपैयाँ जति तिर्यो भने छुट्छ भन्ने छ’, आप्रवासी स्रोत केन्द्र चितवनकी कर्मचारी प्रतिमा सापकोटाले भनिन्, ‘कि त त्यहीँ रहेका नेपालीहरु मिलेर पैसा उठाएर उद्धार गरिए हो ?’
यता परिवारको आर्थिक अवस्था अत्यन्त कमजोर भएको उनले बताइन् । घरमा वृद्ध बाबु,दिदी, श्रीमती र सानो बच्चा छ ।
त्यही फाइन तिरेर श्रीमानलाई निकाल्न सक्छु कि भनी अहिले श्रीमती पनि पैसा कमाउन घरेलु कामदारको रुपमा विदेशिएको बुझिन आएको केन्द्रका कर्मचारी बताउँछन् ।
भिजिट भिसामा घरेलु कामदारको रुपमा गएकाहरु झन् धेरै समस्यामा पर्ने गरेका छन् । भिजिट भिसामा कुवेत गएकी माइती भरतपुर–२ भएकी सुनसरीकी सगुन क्षेत्री पनि त्यहाँको जेलमा छिन् । उद्धारको लागि उनकी आमाले केन्द्रमा निवेदन दिएको बुझिएको छ ।
फ्रि टिकट, फ्रि भिसामा घरेलु कामदारको रुपमा कुवेत पुगेकी माडी–५ की फूलमती दराईलाई बिरामी भएर हात नचलेको अवस्थामा पनि घर फर्किन नदिइएको सुरक्षित आप्रवासन (सामी) कार्यक्रमले जनाएको छ । ३-४ लाख तिरेर मात्र जान दिन्छु भनी उनलाई उतै काम गर्ने ठाउँमा बन्धक बनाएर राखिएको बताइन्छ ।
घरेलु कामदारको रुपमा फ्रि भिसा फ्रि टिकटमा कुवेत पुगेकी माडी–१ की सुमित्रा परियारलाई पनि घर मालिकले फर्किन नदिएको उजुरी छ ।
दैनिक १८-२० घन्टा काम गर्नुपर्ने, हप्तामा छुट्टी पनि नदिने, शारीरिक–मानसिक शोषण, पारिश्रमिक नदिने, खान नदिने, बिरामी हुँदा पनि उपचार नगरिदिने जस्ता धेरै समस्या देखिएपछि नेपाल सरकारले दुबइ, कतार, साउदी अरब, कुवेत, मलेसिया लगायतका देशहरुमा घरेलु कामदारको रुपमा जान रोक लगाएको भएपनि भारतको बाटो हुँदै लुकीछिपी जानेहरू धेरै छन् ।
फ्रि भिसा, फ्रि टिकटमा दिल्लीबाट दुबई, ओमन हुँदै कुवेत लगिएकी कालिका नगरपालिकाकी अन्जु परियार पनि समस्यामा परेको जानकारीमा आएको छ ।