राजनीतिमा आउने कुलमानको संकेत

नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले आफू राजनीतिमा आउने संकेत गर्नुभएको छ ।

कुलमानले सामाजिक सञ्जालमार्फत आफू मध्यपूर्वका विभिन्न देशमा रहेका नेपाली भेट्न जान लागेको बताउनुभएको छ ।

मध्यपूर्वी देशहरूमा रहेका नेपालीलाई सम्बोधन गर्दै उनले अनुभवहरु साटासाट गर्न ती देशमा आउन लागेको खुलाउनु भएको छ ।

‘विदेशी भूमिमा पसिना बगाउँदै देशको सपना बोकेर बस्नुभएको तपाईंहरुलाई म टाढाबाट होइन, नजिकबाट सम्झन आउँदै छु’ उहाँले लेख्नुभएको छ, ‘अहिले बहराइन, ओमान, युएई र कतारमा रहनु भएका तपाईंहरुको जीवन, संघर्ष र सपना बुझ्ने तथा मेरा अनुभवहरु साटासाट गर्ने प्रयासस्वरूप म यो भ्रमणमा निस्किएको हुँ।’

कुलमानका अनुसार बहराइनमा जुलाई २ देखि ४, युएईमा जुलाई ५ देखि ८, ओमानमा जुलाई ९ देखि १० र कतारमा जुलाई ११ देखि १३ सम्म भेटघाट गर्नुहुनेछ ।

राजनीतिज्ञकै स्टाइलमा कुलमान अगाडि लेख्नुहुन्छ, ‘तपाईंहरूको दुःख, आत्मबल र योगदानको मूल्य शब्दले भन्न सकिन्न। म तपाईंहरूसँग प्रत्यक्ष भेटेर भोगाइ सुन्‍न, अनुभूति साझा गर्न र भावनात्मक रूपमा जोडिन चाहन्छु। तपाईंहरूले जे सहनु भएको छ, त्यसमा हामी सबैको जिम्मेवारी छ भन्ने भावनासहित तपाईंहरू सामु आउँदैछु।’