यस वर्ष जुलाईको आज ४ तारिख । यो जुलाई र अगस्ट महिनामा पृथ्वीको परिक्रमा तीव्र हुने छ । जसले गर्दा दिनहरू छोटो हुनेछन्।
जुलाई ९, जुलाई २२ र अगस्ट ५ तारिखमा सबैभन्दा छोटो दिन हुने अनुमान गरिएको टाइम एण्ड डेट डट कमको एक नयाँ रिपोर्टले दावी गरेको छ।
यद्यपि, दिनहरू छोटो हुने प्रक्रिया सूक्ष्म हुनेछ भने मिलिसेकेन्ड मापनको एकाइ हुने बताइएको छ। उदाहरणका लागि, अगस्ट ५ तारिखको दिन औसत दिनहरु भन्दा लगभग १.५१ मिलिसेकेन्ड मात्र छोटो हुने अनुमान गरिएको छ।
यो प्रवेगले चन्द्रमाको ग्य्राभिटेस्नल पुल (गुरुत्वाकर्षणले तान्ने प्रक्रिया) का कारण पृथ्वीको परिक्रमा सुस्त हुने दीर्घकालीन प्रवृत्तिलाई रोक्ने उल्लेख गरिएको छ।
पृथ्वी आफ्नो अक्षमा ३६५ पटक घुम्ने गर्दछ र यो एक वर्षमा हुने दिनहरुको संख्या हो। तर यो सधैं त्यस्तो नभएको र विगतमा पृथ्वीलाई सूर्यको वरिपरि घुम्न लाग्ने दिनहरूको संख्या लगभग ४९० देखि ३७२ दिनसम्मको भएको विभिन्न गणनाहरूले सुझाव दिएका छन्।
यो प्रवेगमा धेरै कारकहरूले योगदान पुर्याउन सक्ने वैज्ञानिकहरूले विश्वास गरेका छन्। पृथ्वीको कोर भित्रका चालहरूले ग्रहको परिक्रमालाई प्रभाव पार्न सक्ने उल्लेख गरिएको छ।
त्यसैगरी पग्लने ग्लेसियर्सहरूबाट द्रव्यमानको पुनर्वितरणले पनि भूमिका खेलिरहेको हुन सक्ने बताइएको छ। यस बाहेक विश्वभर द्रव्यमानलाई पुनर्वितरण गर्ने एल निनो र ला निना घटनाहरूले पृथ्वीको परिक्रमालाई पनि असर गर्न सक्ने थप उल्लेख गरिएको छ।
नेसनल इन्स्टिच्युट अफ स्ट्याण्डर्ड एण्ड टेक्नोलोजीमा टाइम एण्ड फ्रिक्वेन्सी डिभिजनका भौतिकशास्त्री जुडाह लेभिनले सन् २०२१ मा डिस्कभर म्यागजिनलाई “लिप सेकेन्डको आवश्यकताको यो अभावको भविष्यवाणी गरिएको थिएन” भनी बताएका थिए।
“अनुमान, वास्तवमा, पृथ्वी ढिलो हुँदै जानेछ र लिप सेकेन्डको आवश्यकता जारी रहनेछ भन्ने थियो। र त्यसैले यो प्रभाव, यो परिणाम, धेरै आश्चर्यजनक छ” भनी उनले बताएका छन्।
छिटो परिक्रमा गर्न विश्वव्यापी समय पालनामा समायोजन आवश्यक पर्न सक्छ, जसले गर्दा सन् २०२९ मा पहिलो पटक लिप सेकेन्ड घटाउन सकिने सम्भावना हुन्छ भनी थप उल्लेख गरिएको छ।
“कसैले पनि यो अपेक्षा गरेको थिएन” मस्को स्टेट युनिभर्सिटीका पृथ्वी परिक्रमा विज्ञ लियोनिद जोटोभले टाइम एण्ड डेट डट कम लाई भने। “यो प्रवेगको कारण व्याख्या गरिएको छैन” उनले बताए।
“धेरैजसो वैज्ञानिकहरूले यो पृथ्वी भित्रको कुनै चीज हो भन्ने विश्वास गर्छन्। महासागर र वायुमण्डलीय मोडेलहरूले यो विशाल प्रवेगको व्याख्या गर्दैनन्” भनी भौतिकशास्त्री जुडाह लेभिनले थप बताए।
सन् २०२५ मा सबैभन्दा छोटो दिनको लागि तीन सम्भावित मितिहरूमा चन्द्रमा पृथ्वीको भूमध्य रेखाबाट यसको अधिकतम दूरीको वरिपरि हुने टाइम एण्ड डेट डट कमको रिपोर्टले उल्लेख गरेको एनडीटिभीले रिपोर्ट गरेको छ।