एसीसी यू–१६ इस्ट जोन कपः आज नेपाल र सिंगापुर उपाधिका लागि भिड्दै

  • Clock icon
    २०८२ असार २१, शनिबार ०७:२९

एसीसी पुरुष यू–१६ इस्ट जोन कपको उपाधिका लागि आज नेपाल र सिगांपुर भिड्दैछन्। मलेसियाको बाँगीस्थित वाईएसडी यूकेएम ओभलमा हुने खेल आज शनिबार बिहान पौने ८ बजे सुरु हुनेछ।

प्रतियोगितामा नेपाल र सिंगापुर दोस्रो पटक भेट्न लागेका हुन्। एकै समूहमा रहेको नेपालले समूह चरणको पहिलो खेलमा सिंगापुरलाई ६ विकेटले हराएको थियो।

बिहीबार भएको पहिलो सेमिफाइनलमा साविक उपविजेता मलेसियालाई ९ विकेटले हराउँदै नेपाली युवा टोली उपाधि नजिक पुगेको हो। मलेसियाले दिएको ९१ रनको झिनो लक्ष्य नेपालले ११.४ ओभरमा १ विकेटको क्षतिमा भेट्टायो।

बिहीबार नै भएको दोस्रो सेमिफाइनलमा हङकङलाई ४ विकेटले हराउँदै सिंगापुरले नेपालसँगको भेट पक्का गरेको थियो।

प्रतियोगितामा तेस्रो स्थानका लागि आजै खेल हुनेछ। तेस्रो स्थानका लागि थाइल्यान्ड र म्यानमार भिड्दैछन्। सो खेल क्वालालाम्पुरको सेनांगर टर्फ क्लबमा बिहान पौने ८ बजे नै सुरु हुनेछ।

  • Clock icon
    २०८२ असार २१, शनिबार ०७:२९