नेपाल विद्युत प्राधिकरणको ठेक्का विवादमा बागमती प्रदेशसभा सदस्य डम्बर तामाङविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
सहन इन्जिनियरिङ कन्सर्न प्रालिका अध्यक्ष सन्तकुमार गुरुङको जाहेरीमा ललितपुर जिल्ला अदालतले तामाङसहितका ६ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीबाट बागमती प्रदेश सभा सदस्य रहेका तामाङ राप्रपा नेता बुद्धिमान तामाङका आफ्नै भाइ तथा प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङका काका ससुरा हुन् ।
बुद्धिमान भने घिसिङका आफ्नै ससुरा हुन् ।
धादिङ – २ (ख) बाट निर्वाचित तामाङ प्रदेशको सहकारी मन्त्री पनि भएका थिए ।
घिसिङ प्राधिकरणको कार्यकारी निर्देशक हुँदा उनले दबाब दिएर आफ्ना काका ससुरा तामाङको कम्पनीलाई दिलाइदिएको सबस्टेसन निर्माणसम्बन्धी विवादमा तामाङलाई पक्राउ पुर्जी जारी भएको छ ।
ललितपुर जिल्ला अदालतले ५ फागुन २०८१ मै पक्राउ पुर्जी जारी गरेकोमा त्यसविरुद्ध तामाङ लगायतले उच्च अदालत पाटनमा निषेधाज्ञाको निवेदन दिएका थिए ।
उच्च अदालतले पनि उनीहरुको निवेदन खारेज गरिदिएको छ ।