प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले मुलुकमा काम गर्न सहज नभएको बताउनुभएको छ ।
आज शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा ‘सुनेको शासनः भोगेको प्रशासन’ किताबको लोकार्पण गर्दै उहाँले काम गर्न खोज्दा जताततै प्रतिकूलता, असहजता, विघ्नबाधा हुने बताउँदै त्यसका बाबजुद पनि अनुकूलता खोज्न जरूरी भएको उल्लेख गर्नुभयो ।
‘मुलुकमा कुनै काम गर्नलाई जताततै प्रतिकूलता, असहजता, विघ्नबाधा आउँछन भन्ने मेरो दैनिकी र अनुभवले देखाएको छ ,’ उहाँले भन्नुभयो, ‘प्रतिकूलता, असहजता, विघ्नबाधामा पनि अनुकूलता भेटिन्छ भन्ने मेरो अविचलित विचार र संकल्प बोकेर हिँडेको छु म।’
उहाँले आफ्ना पनि संवैधानिक सीमा र न्यायिक मर्यादा निश्चित हुने बताए। लोकतन्त्रमा सबैको भूमिका, कामकारबाहीमाथि टिकाटिप्पणी आलोचना गर्न सक्ने पनि दाबी गर्नुभयो ।
‘लोकतन्त्रमा त्यस्तो कुनै व्यक्ति, निकाय वा संस्था अस्तित्वमा आउन सक्दैन जसको काम कारबाही र भूमिका उपर टिका(टिप्पणी आलोचना प्रसंशा नहोस्,’ प्रधानन्यायधिश राउतले थप्नुभयो, ‘तर प्रबुद्ध वर्गले आज हेक्का राख्नुपर्ने कुरा के छ भने तपाईंहरूले नियतको परख गर्नैपर्छ। यो बहुत ठूलो कुरा छ। किनभने मान्छेको अस्मितासँग जोडिएको कुरा हो।’
उहाले प्रधानन्यायाधीशमाथि प्रश्न उठ्दा जिम्मा लिने र कुनै पनि हिसाबले मुकर नगर्ने जानकारी दिनुभयो ।
यस्तै न्यायपालिकामा रहने न्यायाधीशहरूले न्यायिक निरूपण गर्दा आफूले नियन्त्रण गर्न नमिल्ने पनि उहाले बताउनुभयो ।
‘प्रधानन्याायधीशमाथि प्रश्न उठ्यो भने त्यसको जिम्मा म लिन्छु, कुनैपनि हिसाबले मैले मुकर गर्दिनँ। तर यो पनि जानकारी गराउँदछु। जुडिसियरीको एउटा पिपुलियर क्यारेक्टर हुन्छ,’ उहाले भन्नुभयो, ‘त्यहाँ न्यायाधीश-न्यायधीश बीचमा बसेर न्यायिक निरूपण गर्नुपर्यो भने त्यहाँ डिक्टेड गर्न पाइँदैन। डिक्टेड गर्न नपाउने भएपछि सबैले आफ्नो सार्वभौमिकता प्रयोग गरेको हुन्छ। र त्यसलाई सम्मान गर्नुपर्ने ठाउँमा प्रधानन्यायाधीश पनि बस्नुपर्दछ।’