भोजपुरको रामप्रसाद राई गाउँपालिका- २ को धोद्लेखानी बोन्थिताङमा एकै परिवारका चार जनाको हत्या भएपछि गाउँ शोकमा डुबेको छ।
गएराति एकै घरका चार जनाको हत्या भएको घटनास्थलमा अहिले स्थानीयको बाक्लो उपस्थिति छ। ओल्लोपल्लो गाउँका मान्छेहरू डिलमुनी, डिल माथि बसेर अहिले घटनाको अनुसन्धानमा प्रहरीलाई सघाइरहेका छन्।
घटनाको जानकारी पाएपछि प्रहरीको टोली आज आइतबार बिहान सबैरै घटना स्थलमा पुगेको छ। इलाका प्रहरी कार्यालय घोडेटार, जिल्ला प्रहरी कार्यालय भोजपुर लगायतका ठाउँबाट प्रहरी घटना स्थलमा पुगेर अनुसन्धान थालेको हो।
धोद्लेखानी बोन्थिताङका गाउँलेले यसअघि कहिल्यै यस्तो बीभत्स घटना देखेका थिएनन्। राति गाउँमा के भयो कसैले पत्तो समेत पाएनन्।
बिहान भाले नबास्दै प्रहरी गाउँमा पुगेपछि मात्रै घटनाको बारेमा जानकारी पाएको स्थानीय बताउँछन्।
भोजपुरको रामप्रसाद राई गाउँपालिकामा गएराति एकै परिवारका चार जनाको सामूहिक हत्या भएको घटनाको बारेमा प्रहरीले अनुसन्धान भइरहेको जनाएको छ।
पारिवारिक विवादका कारण एकै परिवारका चार जनाको हत्या भएको प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
भोजपुर नगरपालिका–२ हेलाउँछ बस्ने ३० वर्षीय राजेन्द्र राईले आफ्नै ससुरालीमा गएर पत्नीसहित उनका माइती पक्षका चार जनाको हत्या गरेको हो ।
राजेन्द्रले आफ्नै करिब १५ वर्षीया श्रीमती, १० वर्षीय सालो, ससुरा ६८ वर्षीय बेलबहादुर गिरी र सासू ४५ वर्षीया मञ्जु गिरीको हत्या गरेको प्रहरीले जनाएको छ।