नेपाल विद्युत प्राधिकरणद्वारा सय दिनको कार्यप्रगति सार्वजनिक

हितेन्द्र hitendra

नेपाल विद्युत प्राधिकरणले पछिल्लो सय दिनको प्रगति समेटिएको श्वेतपत्र सार्वजनिक गर्दै ऊर्जा सुरक्षादेखि वित्तीय पारदर्शितासम्मका विषयलाई प्राथमिकतामा राखिएको जानकारी दिएको छ।

मंगलबार आयोजना गरिएको पत्रकार सम्मेलनमा प्राधिकरणका निर्देशक हितेन्द्र शाक्यले हालसम्मका उपलब्धिहरू र आगामी कार्यदिशाको खाका सार्वजनिक गरे। श्वेतपत्रमा पाँच मुख्य विषयलाई प्राथमिकता दिइएको छस् ऊर्जा सुरक्षा र विश्वसनीय आपूर्ति, नविनतम उपायबाट वित्तीय व्यवस्थापन, पारदर्शी तथ्याङ्क प्रणाली, मानव संसाधनको सुदृढीकरण र उपभोक्ता सेवामा सुधार।

ऊर्जा सुरक्षाका लागि प्रमुख योजनाहरू अगाडि बढाइएको जानकारी दिँदै शाक्यले कुलेखानी–सिस्नेरी १०० मेगावाट पम्प स्टोरेज आयोजनाको पूर्व–सम्भाव्यता अध्ययन सम्पन्न भई सम्भाव्यता अध्ययनको लागि लाइसेन्स आवेदन गरिएको बताए। त्यसैगरी, ४९४ मेगावाट क्षमताको हुलिङटार–दुम्किम पम्प स्टोरेज आयोजना पनि समान चरणमा रहेको छ।

त्यसैगरी, उत्तरगंगा र अपर अरुण जलविद्युत आयोजनाहरूको लाइसेन्स प्रक्रिया पनि प्रगति अवस्थामा रहेको जानकारी दिइएको छ। उपभोक्ता सेवा र वितरण प्रणाली सुधारतर्फ, औद्योगिक क्षेत्रमा विद्युत खपत बढाउँदै विश्वासको वातावरण निर्माण गरिएको उल्लेख गरिएको छ। केन्द्रीय तहमा १० जना र प्रदेशगत रूपमा १०–१० जना उच्च महसुल भुक्तानी गर्ने ग्राहकहरूको नामावली सार्वजनिक गरी सम्मान गरिएको छ।

लामो समयदेखि अल्झिएको डेडिकेटेड र ट्रङ्क लाइन विद्युत महसुल सम्बन्धी विवाद समाधानको बाटोमा रहेको प्राधिकरणले जनाएको छ। यसका लागि संचालक समितिबाट पुनरावलोकन प्रक्रिया प्रारम्भ गरिएको र हालसम्म ४६ वटा पुनरावलोकन निवेदन प्राप्त भएको जनाइएको छ।

त्यस्तै, देशभर कार्यालय सञ्चालन गरिरहेका ठूला कर्पोरेट ग्राहकहरूले एकीकृत रूपमा महसुल भुक्तानी गर्न सक्ने गरी नयाँ पेमेन्ट गेटवे निर्माण गरिएको छ, जुन हाल परीक्षणको अन्तिम चरणमा रहेको जानकारी पनि दिइएको छ।

शाक्यले श्वेतपत्रमार्फत प्राधिकरणको कार्यक्षमता अभिवृद्धि गर्दै विश्वसनीय, पारदर्शी र दक्ष सेवा प्रवाहमा जोड दिइएको स्पष्ट पारे।