संसद भवनको छतमा शंकास्पद ड्रोन

  • Clock icon
    २०८२ असार २४, मंगलवार १५:०९

समाचारको फोटो-सांकेतिक तस्बिर

काठमाडौंको नयाँ बानेश्वरस्थित संघीय संसद भवनको छतमा शंकास्पद ड्रोन भेटिएको छ । तारमा अल्झिएको अवस्थामा आज बिहान साढे ९ बजे ड्रोन फेला परेको हो ।

गएराति परिसरभित्र भवनको मुख्य प्रवेशद्वारमा ड्रोन क्यामेरा खसेको भन्दै संसदका कर्मचारीले त्यहाँ खटिएका सुरक्षाकर्मीलाई जानकारी गराएका थिए ।

राति नभेटिएपछि आज बिहान महानगरीय प्रहरी वृत्त, तीनकुनेले पुनः खोजतलास गरेको थियोे ।

सो क्रममा भवनको छतमा रहेको तारमा अल्झिएको अवस्थामा ड्रोन पाइएपछि प्रहरीले वरपरका घरधनी र व्यवसायीलाई सोधपुछ गरे ।

तर, कसैले घरबाट ड्रोन नउडाएको बताएपछि वृत्तले अनुसन्धानका लागि ड्रोन राष्ट्रिय विधि विज्ञान प्रयोगशाला, सामाखुशी पठाउने तयारी थालेको छ ।

यता, संसदका प्रवक्ता सहसचिव एकराम गिरीले ड्रोनबारे कुनै जानकारी नभएको बताए ।

 

  • Clock icon
    २०८२ असार २४, मंगलवार १५:०९