भूमि विधेयक पारित हुन सकेन आज

नेपाली कांग्रेसको विरोधपछि भूमि विधेयक पारित गर्नबाट सरकार पछि हटेको छ।

प्रतिनिधि सभाको आजको बैठकबाट भूमि विधेयक पारित गर्ने तयारीमा सरकार थियो। त्यसैले सम्भावित कार्यसूचीमा समेत राखिएको थियो। तर आजको बैठकको कार्यसूचीमा भूमिसम्बन्धी विषय समावेश गरिएको छैन।

बुधबारको बैठकमा भूमिसम्बन्धी विधेयकमाथि दफावार छलफलका लागि प्रस्तुत गर्ने कार्यसूची थियो।

तर कांग्रेस सांसदसमेत रहेका महामन्त्री विश्वप्रकाश शर्माले भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन विधेयक प्रतिनिधि सभाको कार्यसूचीबाट हटाउन बुधबार बिहानै माग गर्नुभएको थियो ।

महामन्त्री शर्माले विधेयक संशोधन हुनुपर्ने, त्यसमा सहमति जुटाउनुपर्ने खाँचो औंल्याउँदै सोझै पारित गर्ने गरी संसदमा प्रस्तुत गर्न लागेको भन्दै आपत्ति जनाउनुभएको थियो ।

पूर्वसहमति खोज्न या यसलाई छलफलका लागि समितिमा पठाउन पनि उहाँले माग गर्नुभएको थियो ।

साथै नेकपा (माओवादी केन्द्र) ले पनि भूमिसम्बन्धी विधेयक दफावार छलफलका लागि संसदीय समितिमा पठाउनुपर्ने माग गर्दै आएको छ।

यसअघि सरकारले भूमिसम्बन्धी अध्यादेश ल्याए पनि जनता समाजवादी पार्टी नेपालको विरोधपछि सरकारले उक्त अध्यादेश फिर्ता लिएर विधेयक ल्याउने भनेको थियो।