सन् २०३५ सम्म विश्वव्यापी सेमिकन्डक्टर उत्पादनको एक तिहाई अर्थात् करिब ३३ प्रतिशत हिस्सा जलवायु परिवर्तनसँग सम्बन्धित तामाको आपूर्ति अवरोधको जोखिममा पर्ने सम्भावना रहेको प्राइसवाटरहाउसकपर्स पीडब्लूसी नामक परामर्श संस्थाले व्यवसायीक नेताहरूका लागि सार्वजनिक गरेको एक प्रतिवेदनमा उल्लेख गरेको छ।
यो संख्या हालको स्तरको चारगुणा भएको जनाइएको छ।
विश्वकै सबैभन्दा ठूलो तामा उत्पादक मुलुक चिलीले पहिले नै पानीको अभावका कारण उत्पादनमा समस्या भोगिरहेको छ। पीडब्लूसीका अनुसार सन् २०३५ सम्म चिप उद्योगलाई तामा आपूर्ति गर्ने १७ देशमध्ये अधिकांशमा खडेरीको जोखिम हुनेछ।
रोयटर्सका अनुसार अघिल्लो विश्वव्यापी चिप अभाव महामारीकालीन मागको वृद्धि र कारखाना बन्दको मेलले निम्तिएको थियो, जसले अटोमोबाइल उद्योगलाई गम्भीर असर पुर्याएको थियो र चिपमा निर्भर अन्य क्षेत्रका उत्पादन लाइनहरू पनि रोकिएको थियो।
“यसले अमेरिकी अर्थतन्त्रको १ प्रतिशत र जर्मनीको २।४ प्रतिशत जिडीपी वृद्धिमा असर गर्यो,” पीडब्लूसीका परियोजना प्रमुख ग्लेन बर्मले अमेरिकी वाणिज्य विभागलाई उद्धृत गर्दै प्रतिवेदनमा बताएका छन्।
पीडब्लूसीले जनाएअनुसार चीन, अस्ट्रेलिया, पेरु, ब्राजिल, अमेरिका, डेमोक्रेटिक रिपब्लिक अफ कंगो, मेक्सिको, जाम्बिया र मङ्गोलिया लगायतका तामा उत्पादक देशहरू पनि प्रभावित हुनेछन्, जसले विश्वका कुनै पनि चिप उत्पादन केन्द्रलाई जोखिमबाट जोगाउनेछैन।
प्रत्येक चिपको सर्किटभित्रका अर्बौँ साना तार बनाउनमा तामाको प्रयोग हुन्छ। विकल्पको खोजी भइरहे पनि हाल यसको मूल्य र कार्यसम्पादन बराबरी गर्न सक्ने विकल्प छैन।
यदि जलवायु परिवर्तनअनुकूल सामग्री नवप्रवर्तन र प्रभावित देशहरूमा सुरक्षित जल आपूर्ति प्रणाली विकास भएन भने जोखिम अझ बढ्दै जाने पीडब्लूसीले उल्लेख गरेको छ।
“विश्वले कार्बन उत्सर्जन जति नै छिटो घटाए पनि सन् २०५० सम्म प्रत्येक देशको करिब आधा तामा आपूर्ति जोखिममा पर्नेछ,” प्रतिवेदनमा भनिएको छ।
पीडब्लूसीले चिली र पेरुले खानीको दक्षता बढाउने र खारे पानीलाई प्रशोधन गर्ने संयन्त्र निर्माण गरी पानी आपूर्तिको सुरक्षा गर्न कदम चालेको उल्लेख गरेको छ। यस्ता प्रयास सराहनीय भए पनि समुन्द्री पानीको पहुँच नभएका देशहरूका लागि समाधान नहुन सक्ने पीडब्लूसीको भनाइ छ।