कलंकी बसुन्धारा सडक : १० अर्ब खर्च

चक्रपथ (कलंकी बसुन्धारा) सडक विस्तारका लागि डिजाइनको काम अन्तिम चरणमा पुगेको छ। चीन सरकारले ‘डिजाइन, सर्भे र मेनेजमेन्ट’का लागि छनोट गरेको कम्पनी अध्ययनको काम अन्तिम चरणमा पुर्‍याएर स्वदेश फर्किन लागेको हो।

चीनको वाणिज्य मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहयोगमार्फत् चक्रपथ विस्तारको दोस्रो खण्ड अनुदान सहयोगमा विस्तार गर्न अध्ययन भइरहेको छ। चीन सरकारले सीसीसीसी फस्ट हाइवे कन्सल्टिङ कम्पनी र सियान फाङझाउ इन्जिनियरिङ कन्सल्टिङ कम्पनीको जोइन्ट भेन्चर कम्पनी ९जेभी० लाई चक्रपथ विस्तारको ‘डिजाइन, सर्भे र मेनेजमेन्ट’का लागि छनोट गरेको थियो।

उक्त कम्पनीले सन् २०२५ अप्रिल ११ (वि.सं. २०८१ चैत २९ गते) १२ जना व्यावसायिक अध्ययन र ९ जना इन्जिनियरिङ अध्ययनका लागि गरेर २१ जनाको टोली नेपाल पठाउने निर्णय गरेको थियो। बैशाखमा (मे महिनाको पहिलो साता) नेपाल आइपुगेर प्राविधिक टेलीले सडक विभागका इन्जिनियरहरुसँग बैठक बसेर स्थलगत अध्ययन, इन्जिनियरिङ सर्वेक्षण र भूगर्भीय अनुसन्धान सुरु गरेको थियो।

हाल उक्त काम लगभग सकिएको छ। ‘फिल्ड सर्भे’को काम सकेर धेरै प्राविधिकहरु चाइना फर्किसकेको सडक विभागले जनाएको छ। अहिले नेपालमा ९ जना माटो परीक्षण र दुईजना डिजाइनका गरी ११ जना प्राविधिकमात्रै बसेका छन्।

‘सबै इन्जिनियर सधैँ बस्नुपर्दैन, अरुले आफ्नो काम सकेर फर्किए, साउन पहिलो सातासम्म सबै प्राविधिकहरु चीन फर्किन्छन् होला’, विभाग स्रोतले भन्यो।

चीन सरकारले सीसीसीसी र सियान कम्पनीसँग सन् २०२६ अगस्टसम्म डिजाइन तयार गर्ने गरी सम्झौता गरेको थियो। तर नेपालमा काम गर्दा कागजी प्रक्रिया धेरै हुने भएकाले तोकिएको समयमा डिजाइन तयार गर्न नसकिने चिनियाँ प्राविधिकहरुले गुनासो गरेका छन्।
प्राविधिकहरुको प्रारम्भिक अध्ययनले चक्रपथ विस्तार सुरु भएको तीन वर्षभित्र सम्पन्न हुने र १० अर्ब खर्च हुने सम्भावना देखिएको सडक विभाग बताउँछ।