नेपाली कांग्रेसले २०७९ सालको निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई असहयोग गर्ने २३ जनालाई अनुशासनको कारवाही गरेको छ । ०७९ को निर्वाचनमा पार्टीमा अन्तर्घात गरेको अभियोग लागेका उनीहरुमाथि केन्द्रीय अनुशासन आयोगले कारवाहीको डण्डा बर्साएको हो ।
पार्टीका उम्मेदवारलाई हराउने मनसायका साथ अनेक हत्कण्डा प्रयोग गरेको प्रमाणहरूका आधारमा नेता(कार्यकर्तालाई निष्कासनरनिलम्बन गर्ने निर्णय गरिएको आयोगका संयोजक आनन्दप्रसाद ढुङ्गानाले जानकारी दिए । कारवाहीमा पर्ने १८ मध्ये ५ जनालाई एक वर्ष, १२ जनालाई ६ महिना र एक जनालाई ३ महिना साधारण सदस्यसमेत नरहने गरी निलम्बन गरिएको जनाइएको छ ।
पार्टीबाट हटाइनेमा प्रदेशको शक्तिशाली महामन्त्रीदेखि जिल्ला सभापति र पूर्व मन्त्रीसमेत छन् । अनुशासन आयोगका अनुसार लुम्बिनी प्रदेशका महामन्त्री विक्रम खनाललाई एक वर्ष साधारण सदस्यता समेत नरहने गरी कारबाही गरिएको छ ।
खोटाङ सभापति विष्णुकुमार राई र पूर्वमन्त्रीसमेत रहेका कास्कीका महाधिवेशन प्रतिनिधि कुमार खड्काको एक वर्षका लागि सदस्यता खोसिएको छ । तीनैजना पार्टीका उम्मेदवारविरुद्ध लागेको प्रमाण भेटिएको जनाइएको छ ।
‘स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन– २०७९ मा पार्टीका उम्मेदवार वा पार्टीले समर्थन गरेका उम्मेदवारका विरुद्ध असहयोग गरी पराजित गराउने गलत मनसायका साथ सामाजिक सञ्जाल, अडियो रभिडियो लगायत अनेकन हत्कण्डाहरु प्रयोग गरिएका प्रमाणहरूका आधारमा तपशील बमोजिमका पार्टीका नेता तथा कार्यकर्ताहरूलाई निष्कासन-निलम्बन गर्ने निर्णय गरिएको छ,’ ढुङ्गानाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
तेह्रथुम जिल्लाका महासमिति सदस्य तुलसी सुब्बा, पर्सा-१ का क्षेत्रीय सभापति अरविन्दकुमार गुप्तालाई पनि १ वर्ष साधारण सदस्यसमेत नरहने गरी हटाइएको विज्ञप्तिमा उल्लेख छ । धनुषाको सबैला नगरपालिकाका नगर सभापति खटरु यादव, धनुषाधाम नगरपालिका- १ का रामबाबु यादव र मुखियापट्टी मुसहरनियाका सभापति फुलगेन यादव पनि निलम्बनमा परेका छन् ।
धनगढी उपमहानगरपालिका वडा नं।२ का क्षेत्रीय प्रतिनिधि रविन्द्रप्रताप सिंह, क्रियाशील सदस्य लेखराज ओझा, सुभाष चन्द, धनगढी उपमहानगरपालिका वडा नं.५ का पूर्व महाधिवेशन प्रतिनिधि बब्लुकुमार चौधरी पनि पार्टीको विधान २०१७ संशोधन सहित धारा ३४ को उपधारा १ क, ख र घ अनुसार ६ महिना निलम्बनमा परेका छन् ।
कास्कीको क्षेत्र नं. २ का क्षेत्रीय सहसचिव भावना श्रेष्ठ, धनगढी उपमहानगरपालिका २ का महाधिवेशन प्रतिनिधि भिमबहादुर शाह र निवर्तमान जिल्ला सचिव पूर्णकुमार कुँवरलाई निलम्बन गरेको जनाइएको छ । कास्कीका निवर्तमान सभापति कृष्ण केसी भने मात्र ३ महिनाको लागि निलम्बित भएका छन् ।
जनआस्थाबाट साभार